केन्द्रीय राजनीतिमा समीकरण बदलिएसँगै प्रदेश सरकारमा हलचल सुरु

चैत्र ११,२०७९

-आस्था न्यूज

चैत ११, २०७९ काठमाडौं ।
केन्द्रीय राजनीतिमा बदलिएको समीकरणसँगै प्रदेश सरकारमा हलचल सुरु भएको छ । सत्तागठबन्धनमा रहेका दलहरूको सहमतिअनुसार केही प्रदेशमा मुख्यमन्त्री विश्वासको मत लिने प्रक्रियामा अगाडि बढेका छन् भने एमाले नेतृत्वको सरकार रहेको प्रदेशमा गठबन्धनमा रहेका दलहरू बाहिरिन थालेका छन् । 
 
शुक्रबार बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिएका छन् । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेलले कांग्रेसबाट विश्वासको मत पाए । सरकारले विश्वासको मत पाएसँगै बागमतीमा एमाले विपक्षी कित्तामा पुगेको छ । 
 
बागमतीमा कांग्रेसले पनि दाबी राखेपछि विश्वासको मतमा तोकिएको दिनबाट दुई दिन ढिलाइ भएको थियो । राष्ट्रपति निर्वाचनमा नयाँ समीकरण बनेपछि मुख्यमन्त्री जम्कट्टेलले ६७ दिनमा दोस्रोपटक विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । 
 
अर्कोतर्फ गण्डकीमा माओवादी मन्त्रीहरूले राजीनामा दिएपछि एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारी अल्पमतमा परेका छन् । माओवादीले समर्थन गरेको र मुख्यमन्त्रीमा नियुक्त भएको ७५औँ दिनमा माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारी अल्पमतमा परेसँगै उनको पदसमेत धरापमा परेको छ । पाँच दलको प्रतिनिधित्व रहेको ६० सांसदको गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका सभामुखसहित आठ, राप्रपाका दुई र एकीकृत समाजवादीका एक सदस्य छन् ।
 
लुम्बिनीमा माओवादीले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको छैन । गण्डकी र लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेस र माओवादी दुवैले दाबी गरिरहेका छन् । 
 
कोसी प्रदेशमा सरकार परिवर्तनमा भने केही ढिलाइको संकेत देखिएको छ । कोसी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्वमा सरकार छ । कार्कीलाई माओवादी, राप्रपा र जसपाको समर्थन कायम छ । 
 
कोसीमा सरकारलाई समर्थन फिर्ता गर्ने विषयमा माओवादीमा नै अलमल छ । कोसीमा मुख्य प्रतिपक्षी कांग्रेसले भने सरकार परिवर्तन गराउन केन्द्रमा दबाब बढाइरहेको छ ।
 
माओवादीका कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो कोसी सरकार तत्काल परिवर्तन नहुने बताउँछन् । उनी आफूहरू स्थिर सरकारको पक्षमा रहेकाले यही सरकारलाई निरन्तरता दिन केन्द्रीय नेतासँग पनि छलफल गर्ने बताउँछन् । ‘कोसी प्रदेशको अंकगणित नै फरक छ, त्यसैले अहिले सरकार परिवर्तन हँुदैन । स्थिर सरकारको पक्षमा रहेकाले यही सरकारलाई निरन्तरता दिन केन्द्रीय नेताहरूसँग पनि छलफल गछौँ,’ आङ्बो भन्छन् ।
 
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे प्रदेश सरकारको विषय गठबन्धनमा प्याकेजमा टुंगो लगाउने गरी शीर्ष तहमा छलफल भइरहेको बताउँछन् । ‘संघ र प्रदेशमा बाँडफाँटको विषय प्याकेजमा टुंगो लगाउने गरी छलफल जारी छ । बागमतीमा राप्रपाले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिने समय घर्किने भएकाले ‘क्राइसिस म्यानेजमेन्ट’ गरिएको हो,’ उनले भने, ‘केन्द्रमा साझा न्यूनतम कार्यक्रम तयार हुँदै छ । न्यूनतम कार्यक्रममा गठबन्धन सरकारमा सहभागिताको आधार तयार हुन्छ । त्यसपछि छलफल सिट बाँडफाँटको चरणमा प्रवेश गर्नेछ । छलफलमा प्रदेश, संघ र उपनिर्वाचनको विषय अन्तर्सम्बन्धित छन् ।’ 
 
सत्तारूढ गठबन्धनमा गठबन्धन दलको नेतृत्व रहेका प्रदेश सरकारलाई निरन्तरता दिने र एमालेका मुख्यमन्त्री रहेका प्रदेशमा सहमतिमा बाँडफाँट गर्ने सहमति छ । सुदूरपश्चिम सरकारमा एमालेले विश्वासको मत गुमाएपछि माओवादीको समर्थनमा कांग्रेसबाट मुख्यमन्त्री छन् । 
 
बागमती र कर्णालीमा माओवादीबाट मुख्यमन्त्री छन् । मधेसमा जसपाको नेतृत्वमा सरकार बनेको छ । यी प्रदेशमा पहिलो चरणमा विश्वासको मत कायम गर्ने तयारी छ । दोस्रो चरणमा कसको नेतृत्व भन्नेमा शीर्ष तहमा छलफल जारी छ । एमाले मुख्यमन्त्री रहेका कोसी, गण्डकी र लुम्बिनीमा सरकार फेरबदलको तयारी सुरु भएको छ । पहिलो चरणमा गण्डकी र लुम्बिनीमा कांग्रेस तथा कोसीमा एकीकृत समाजवादीलाई दिने तयारी छ । आजको नयाँ पत्रिकामा खबर छ ।