भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बन्यो

बैशाख ०६,२०८०

-आस्था न्यूज

बैशाख ६, २०८० काठमाडौं ।
संयुक्त राष्ट्रसङ्घ- भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (युएनएफपीए)को पछिल्लो तथ्यांकअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसङ्ख्या भएको देश बनेको हो । 
 
युएनएफपीएको ‘द स्टेट अफ वल्र्ड पपुलेसन रिपोर्ट, २०२३’ मा भारतको जनसङ्ख्या एक अर्ब ४२ करोड ८६ लाख पुगेको तथा चीनको जनसङ्ख्या एक अर्ब ४२ करोड ५७ लाख रहेको उल्लेख गरिएको छ । युएनएफपीएको प्रतिवेदनको जनसाङ्ख्यिक सूचकमा यो तथ्यांक समावेश गरिएको छ । 
 
सन् १९५० मा संयुक्त राष्ट्रसङ्घले जनसङ्ख्या तथ्यांक संकलन र जारी गर्न थालेपछि भारतको जनसङ्ख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो । गत वर्ष चीनको जनसङ्ख्या उच्च बिन्दुमा पुगेर घट्न थाल्योभने सोही अवधिमा भारतको जनसङ्ख्यामा बढोत्तरी भएको छ । 
 
प्रतिवेदनअनुसार सरदर आयुमा भने भारतभन्दा चीन अगाडि छ । चीनमा महिलाको सरदर आयु ८२ वर्ष तथा पुरुषको ७६ वर्ष छ भने भारतमा महिलाको सरदर आयु ७४ र पुरुषको ७१ वर्ष छ । 
 
विज्ञहरूका अनुसार भारतलाई अहिले जनसाङ्ख्यिक लाभ भएको छ । उपभोक्ता सञ्चालित अर्थतन्त्रमा युवा जनसङ्ख्याको अधिकताले देशको विकासलाई अघि बढाउन मद्दत गर्नेछ भने देशको आर्थिक वृद्धिका लागि पनि ठूलो अवसर प्रदान गर्नेछ ।