ठूला दलहरुका कार्यालय सुनसान, घरबाटै पार्टी चलाउँछन् कांग्रेस नेता

आषाढ २७,२०८०

-आस्था न्यूज

असार २७, २०८० काठमाडौं ।
१४औँ महाधिवेशनलगत्तै सभापतिसहितका पदाधिकारी कम्तीमा तीन दिन पार्टी कार्यालयमै भेटिने व्यवस्था गर्नेबारे नेताहरूबीच छलफल भएको थियो । सभापति देउवाले पनि आफू तयार रहेको बताएका थिए । तर, कार्यान्वयन त पर, त्यसबारे अचेल चर्चासमेत हुँदैन ।
 
१४ सदस्यीय पदाधिकारी, एक सय ५७ केन्द्रीय सदस्य, साढे आठ लाख क्रियाशील सदस्य, १८ लाख साधारण सदस्य र गत मंसिरको संघीय निर्वाचनमा समानुपातिकतर्फ २७ लाख मत ल्याएको दल कांग्रेस देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति हो । यस हिसाबले कांग्रेस केन्द्रीय कार्यालयमा शीर्ष नेता र कार्यकर्ताको आवतजावत बाक्लो हुनुपर्ने हो । तर, सानेपास्थित मुख्यालय बैठक र औपचारिक कार्यक्रमबाहेक अरू दिन सुनसानजस्तै हुन्छ, पदाधिकारी पनि विरलै भेटिने गर्छन् । 
 
बुधबारदेखि कांग्रेस मुख्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । १९ चैतमा कार्यसम्पादन समिति बैठकपछि पदाधिकारीसहितका केन्द्रीय सदस्यहरू कार्यालयमा जम्मा हुँदै छन् । को–को पदाधिकारी, कहिले–कहिले आए भन्ने सम्पूर्ण विवरण केन्द्रीय कार्यालयमा समेत छैन । 
 
कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार १४औँ महाधिवेशनपछि ६ पटक केन्द्रीय कार्यसमिति बैठक बसेको छ । जुन १४ दिन बसेको थियो । यसबाहेक २१ पटक कार्यसम्पादन समिति बैठक बसेको छ । यी सबै बैठक सानेपामा नै बसेका हुन् । 
 
यी बैठकमा पदाधिकारी उपस्थित भए पनि अरू वेला कार्यालयमा भेट्न सहज छैन । सभापति शेरबहादुर देउवादेखि वर्तमान पदाधिकारी, पूर्वपदाधिकारी र इतर समूहको नेतृत्व गरिरहेका नेता डा। शेखर कोइरालासम्म केन्द्रीय कार्यालय जान जाँगर गर्दैनन् । नेताहरू कार्यालयमा नभेटिने भएपछि कामका लागि नेता–कार्यकर्ता घरघरमै धाउन बाध्य छन् । केन्द्रीय कार्यालय सुनसान र नेतानिवासमा भिड देखिने कांग्रेसभित्र परम्पराजस्तै भएको छ । 
 
केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा। प्रदीप पराजुली पार्टी बैठकबाहेक पनि पदाधिकारी कार्यालयमा आउजाउ गर्ने गरेको दाबी गर्छन् । पार्टी कामकै सिलसिलामा नेताहरू जिल्ला–जिल्ला जाने भएकाले सधैँ कार्यालयमा भेटिन सम्भव नहुने उनको तर्क छ । ‘पार्टी बैठकबाहेक सम्भव भएसम्म सभापतिसहित पदाधिकारी कार्यालय आउने गर्नुहुन्छ,’ उनको दाबी छ, ‘तर, को कतिपटक आउजाउ गर्नुभयो भन्ने विवरण नै त छैन ।’
 
औपचारिक विवरण नभए पनि बैठकबाहेक नेताहरू केन्द्रीय कार्यालय गएका कमै उदाहरण छन् । सभापति देउवालाई बैठकबाहेकका वेला कार्यालयमा भेट्न दुर्लभ जस्तै छ । १४औँ महाधिवेशनअघि पार्टीका बैठक या त सभापति देउवानिवास बुढानीलकण्ठमा भए, या त प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा बसे । त्यसवेला बैठकका एजेन्डाबारे छलफलका लागि पदाधिकारी बालुवाटार धाउनुपर्थ्यो । 
 
२९ असार ०७८ मा प्रधानमन्त्री नियुक्त भएपछि सभापति देउवा झन्डै पाँच महिनापछि २१ मंसिर ०७८ मा मात्रै पार्टी कार्यालय सानेपा पुगेका थिए । जतिवेला कांग्रेस महाधिवेशनको चटारो थियो । त्यसवेला उनी महाधिवेशन तयारीका लागि गठन भएका समितिका कामबारे जानकारी लिन कार्यालय पुगेका थिए । 
 
०७८ पुसमा १४औँ महाधिवेशनबाट पुनः सभापति निर्वाचित भएपछि पनि देउवाको शैलीमा कुनै फेरबदल भएन । १० पुस ०७९ मा कांग्रेस सरकारबाट बाहिरिएपछि देउवा धुम्बाराहीस्थित भाडाको घरमा सरे । यसपछि पनि नेता÷कार्यकर्ताले उनलाई भेट्न घरमै धाउनुपर्ने अवस्था छ । आवश्यक परेमा देउवाले पदाधिकारी र नेतालाई निवासमै बोलाएर छलफल गर्छन् । आक्कल झुक्कल सानेपा पुगे पनि छोटो समय बसेर फर्कने गरेका छन् । 
 
देउवा प्रधानमन्त्री रहेको समयमा बालुवाटारमा नै पार्टी बैठक बस्ने गरेका थिए । यसको विशेष गरी इतर समूह र महामन्त्री गगन थापाले पार्टीको बैठक प्रधानमन्त्रीनिवासमा र बालुवाटारको खर्चमा पार्टी बैठक गर्न नहुने भन्दै आलोचना गर्दै आएका थिए । तर, पार्टीका महत्वपूर्ण छलफलका लागि सभापतिले निवासमै पदाधिकारी बैठक राख्दा महानमन्त्रीलगायत सहमहामन्त्रीहरू धुम्बाराही पुग्ने गरेका छन् । यसरी बसेका पदाधिकारी बैठक कांग्रेसको रेकर्डमा भने छैन । कांग्रेस विधानले पदाधिकारी बैठकलाई चिन्दैन । जसकारण छलफल र परामर्श भए पनि निर्णय सभापति देउवाले या कार्यसम्पादन र कार्यसमिति बैठकबाट हुँदै आएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।