एकीकृत समाजवादी दुई वर्ष पुराः संगठन विस्तार र आन्तरिक मतभेद व्यवस्थापनमा असफल

भाद्र ०९,२०८०

-आस्था न्यूज

भदौ ९, २०८० काठमाडौं ।
एमालेबाट अलग भई माधवकुमार नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादी पार्टी शनिबार दुई वर्षको भयो । विभिन्न उतारचढावबीच एमालेलाई सत्ता राजनीतिबाट विमुख गर्न र आफू केन्द्रदेखि प्रदेशसम्म सत्ता राजनीतिमा जोडिन सफल भए पनि संगठन विस्तार र आन्तरिक मतभेद व्यवस्थापनमा भने समाजवादी असफलजस्तै देखिएको छ । अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालबीच राजनीतिक–वैचारिक र संगठनात्मक मतभेद छताछुल्ल भएका छन् । 
 
९ भदौ ०७८ मा निर्वाचन आयोगबाट पार्टी दर्ताको प्रमाणपत्र लिएको एकीकृत समाजवादीले शनिबार ‘पार्टी पुनर्गठन दिवस’ मनाउँदै छ । अध्यक्ष नेपालले विद्रोहको औचित्य पुष्टि भएको बताउँदै आए पनि खुम्चिँदो संगठन चुनौती बन्दै गएको छ । पार्टी सरकारमा छ, तर पार्टीको भविष्यप्रति आश्वस्त हुन नसकेका नेता–कार्यकर्ताको पार्टी परित्याग गर्ने क्रम जारी छ । 
 
एमालेबाट विद्रोह गरेर संसद् पुनस्र्थापना र स्थायित्वको राजनीतिक एजेन्डा पूरा गराउन भूमिका निर्वाह गरे पनि कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्ने काममा एकीकृत समाजवादीलाई अपेक्षाकृत सफलता हात लागेको छैन । पार्टीमा ‘संगठनात्मक, विचारधारात्मक, आचरणात्मक र शैलीको पुनर्गठन’ बाँकी नै रहेको अध्यक्ष नेपाल आफैँले स्विकारेका छन् । 
 
‘नेपाली कम्युनिस्ट आन्दोलनमा भित्रिएका अनेकन् विकृति र विसंगतिका विरुद्ध मात्रै नभई आफैँभित्रका नकारात्मक पक्षविरुद्ध समेत लामो समय कठोर संघर्ष चलाएर पूरा गर्नुपर्नेछ,’ बिहीबार मात्रै सकिएको केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा नेपालले भनेका छन्, ‘नथाकीकन गर्नुपर्दछ । हामीले आँट गर्‍यौँ भने पक्कै पनि यो काम पूरा गर्न सकिन्छ ।’
 
दुई वर्षको बीचमा विद्रोहको राजनीतिक रूपमा पुष्टि भए पनि संगठनात्मक रूपमा धेरै काम गर्न बाँकी रहेको नेताहरू बताउँछन् । एकीकृत समाजवादीको अंकगणितले पनि उसको असफलताको मापन देखाउँछ । त्यति मात्र होइन, पार्टी गठनपछि तीनवटै तहको निर्वाचन सामना गरेको एकीकृत समाजवादीभित्र विद्रोहको औचित्य पुष्टि भयो कि भएन भन्ने बहस छ । अध्यक्ष नेपालले विद्रोहको औचित्य पुष्टि भएको दाबी गर्दै आएका छन् । तर, सम्मानित नेता खनालले औचित्य पुष्टि हुन बाँकी नै रहेको औँल्याएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।