कृषिमा आबद्ध युवाको संख्या घट्यो, महिला र प्रौढले आंशिक रूपमा धान्दै

भाद्र २२,२०८०

-आस्था न्यूज

भदौ २२, २०८० काठमाडौं ।
रोजगारी र अध्ययनका लागि विदेशिनेको संख्या दिनानुदिन बढेसँगै स्वदेशमा कृषि कर्ममा आबद्ध युवाको संख्या ह्वात्तै घटेको छ भने महिला र प्रौढले आंशिक रूपमा धानिरहेको एक सरकारी तथ्यांकले जनाएको छ ।
 
राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको ‘राष्ट्रिय कृषि गणना-०७८’ अनुसार पछिल्लो १० वर्षमा कृषिमा लाग्ने महिलाको संख्या १३ प्रतिशतले बढेको छ भने पुरुषको संख्या घटेको छ । उमेर समूहका हिसाबले ५४ वर्षमुनिका किसानको संलग्नता पनि घट्दै गएको छ ।
 
कृषिमा युवाको संख्या घट्नुको कारण रोजगार र अध्ययनको सिलसिलामा विदेशिनु रहेको कार्यालयका प्रमुख तथ्यांक अधिकारी तोयम रायाको दाबी छ । ‘५० लाखभन्दा बढी नेपाली विदेशमा छन् । तीमध्ये २६ लाख श्रम स्वीकृति लिएका छन्,’ रायाले भने, ‘युवाहरू विदेशिएपछि त्यसको असर कृषिमा देखिएको हो ।’ युवा जनशक्ति विदेशिएसँगै कृषि क्षेत्रमा महिला र प्रौढहरूको संख्या बढ्नु बाध्यात्मक परिस्थिति रहेको विश्लेषण छ ।
 
विदेश अध्ययनका लागि गत वर्षमात्रै १ लाख १० हजार २ सय १७ जनाले नो अब्जेक्सन लेटर ९एनओसी० लिएका थिए । जसमा अध्ययनका लागि नेपालबाट १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ । अध्ययनसँगै काम गर्दा गतिलो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेशिने क्रम बढेको हो । 
 
वैदेशिक अध्ययन जस्तै वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिनेको संख्या पनि उच्च छ । गत वर्ष मात्रै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या हालसम्मकै बढी अर्थात् ७ लाख ४० हजार थियो । अघिल्लो आर्थिक वर्षमा करिब ६ लाख ३० हजारले श्रम स्वीकृति लिएका थिए । अध्ययन र श्रमका लागि विदेशिएपछि त्यसको प्रत्यक्ष प्रभाव कृषिमा परेको जानकार बताउँछन् ।
 
मुलुकमा ५० प्रतिशतभन्दा बढी टुक्रे जग्गा भएकाले किसान परिवार बढेको र कृषियोग्य जमिन घटेको कृषिविज्ञ कृष्ण पौडेलले जनाए । आजको कान्तिपुरमा खबर छ ।