सेना र दुई प्रहरीका कल्याणकारी कोषमा ८५ अर्ब ७३ करोड जम्मा

अस्पताल, पेट्रोलपम्प,गेस्टहाउसदेखि जग्गा प्लटिङसम्ममा लगानी

आश्विन ०२,२०८०

-आस्था न्यूज

असोज २, २०८० काठमाडौं । 
तीन सुरक्षा निकाय सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको कल्याणकारी कोषमा ८५ अर्ब ७३ करोड रुपैयाँ जम्मा भएको छ । सबैभन्दा धेरै सैनिक कल्याणकारी कोषमा यसको ९० प्रतिशत हिस्सा अर्थात् ७७ अर्ब ६१ करोड छ । नेपाल प्रहरीको चार अर्ब १२ करोड र सशस्त्रको कल्याणकारी कोषमा चार अर्ब छ । यो रकम कोषमा रहेको नगद हिसाब मात्रै हो, नेपाल प्रहरी र सशस्त्रले विभिन्न क्षेत्रमा गरेको लगानी यसमा समावेश छैन ।  
 
तीनवटै सुरक्षा निकायले कोषको रकम विद्यालय, अस्पताल, पेट्रोलपम्प, जग्गालगायतमा लगानी गरेका छन् । कोषअन्तर्गत २० क्षेत्रमा लगानी फैलाएको सेनाले पछिल्लोपटक स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । २० क्षेत्रमा कुल ६ अर्ब ५५ करोड ४० लाख ८२ हजार लगानी गरेकोमा स्वास्थ्य र शिक्षामा मात्रै त्यसको ६७।८७ प्रतिशत अर्थात् चार अर्ब ४४ करोड ८४ लाख ५९ हजार लगानी गरेको छ । बाँकी ७१ अर्ब ६ करोड भने सैनिक कल्याणकारी कोषमा नगदै छ । 
 
सेनाले स्वास्थ्य विज्ञान संस्थानमा दुई अर्ब २८ करोड २७ लाख ५३ हजार लगाएको छ । त्यसपछि सबैभन्दा ठूलो लगानी न्युरोडस्थित कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी अस्पतालमा छ जहाँ एक अर्ब ६२ करोड ६५ लाख ६० हजार लगाएको छ । यी संस्थामा बिरामीको उपचार हुनुका साथै चिकित्सा शिक्षा अध्ययन हुँदै आएको छ । 
 
सैनिक कल्याणकारी कोषका निर्देशक तथा सदस्यसचिव सहायक रथी किरण केसीले कोषको मुलुकभर विभिन्न २० क्षेत्रमा लगानी रहेको बताए । कोषको विवरण सार्वजनिक गर्ने क्रममा उनले भने, ‘कोषले मुलुकभर विभिन्न २० क्षेत्रमा लगानी गरेको छ । जसमा कोषको लगानी ६ अर्ब ५५ करोड रुपैयाँ छ । यसमध्ये स्वास्थ्य विज्ञान संस्थान र मिलिटरी अस्पतालमा सबैभन्दा धेरै लगानी छ ।’ 
 
त्यस्तै, शिक्षाअन्तर्गत सेनाले कृषि विज्ञान संस्थानमा २२ करोड २६ लाख ८८ हजार लगानी गरेको छ । सेनाले चितवनमा पनि सैनिक आवासीय महाविद्यालय सञ्चालनमा ल्याएको छ । यसको आवास खरिदका लागि मात्रै कोषको १७ करोड ५२ लाख ६७ हजार रुपैयाँ खर्च भएको छ । त्यसबाहेक शुद्ध खानेपानी तथा अक्सिजन प्लान्टमा पनि लगानी गरेको छ । प्लान्टबाट सेनाका लागि आवश्यक खानेपानी र अक्सिजन उत्पादन हुँदै आएको छ । 
 
विस्फोटक पदार्थ तथा गोली उत्पादनमा पनि सेनाको लगानी छ । विशेषगरी सुनाचुरी इमल्सन प्लान्टबाट सेनाका लागि आवश्यक गोली र सिभिल एक्सप्लोसिभ प्लान्टबाट भौतिक निर्माणका लागि आवश्यक विस्फोटक पदार्थ उत्पादन हुँदै आएको छ । कोषमार्फत सुनाचुरी इमल्सन प्लान्टमा सेनाको २६ करोड ९० लाख १३ हजार र सिभिल एक्सप्लोसिभ प्लान्टमा ३३ करोड ३० लाख ६६ हजार लगानी छ । यो कुल लगानीको ९।१८ प्रतिशत हो । 
 
कोषका निर्देशक सहायक रथी केसीले भने, ‘मकवानपुरको सुनाचुरीस्थित इमल्सन प्लान्टबाट विस्फोटक पदार्थ उत्पादन हुँदै आएको छ । मुलुकमा सञ्चालित विकास आयोजनाका लागि आवश्यक विस्फोटक पदार्थ सोही प्लान्टबाट उत्पादन हुँदै आएका छन् । यसले मुलुकलाई विस्फोटक पदार्थमा आत्मनिर्भर बनाएको छ ।’ 
 
सेनाको लगानी रहेको अर्को क्षेत्र पेट्रोलपम्प हो । पछिल्ला दिन सेनाले यस क्षेत्रमा मात्रै ११ करोड ५५ लाख २६ हजार रुपैयाँ लगानी गरेको छ । यो कुल लगानीको १।७६ प्रतिशत हो । विशेषगरी सेनाले पछिल्लोपटक इटहरी, बुटवल, तनहुँ र काठमाडौंको सीतापाइलमा पेट्रोलपम्प राखेको छ ।
 
यसबाहेक जग्गा खरिद तथा भवन निर्माण, टक्सार भवन निर्माण, वृद्धाश्रम, सुपथ मूल्य पसल, गेस्टहाउस निर्माण तथा जुत्ता उत्पादन कारखानमा पनि लगानी गर्दै आएको छ । यी क्षेत्रमा मात्रै सेनाको एक अर्ब ३८ करोड ७९ लाख ६४ हजार लगानी छ । यो कुल लगानीको २१।१७ प्रतिशत हो । जसमध्ये इचंगुनारायणमा गरिएको जग्गा खरिद तथा भवन निर्माणमा मात्रै कोषमार्फत सेनाले ४२ करोड २२ लाख ६३ हजार रुपैयाँ लगानी गरेको छ । 
 
यससँगै सुपथ मूल्य पसलमा १३ करोड ९३ लाख चार हजार, जुत्ता उत्पादन परियोजनामा १३ करोड ५५ लाख दुई हजार, जेपी प्रतिष्ठानस्थित वृद्धाश्रममा दुई करोड ९८ लाख ५० हजार, बुटवलस्थित टक्सार भवन निर्माणमा सात करोड ७६ लाख ८२ हजार र नेपाली सेना कल्याणकारी बोर्डमा ५७ लाख ३३ लाख ६३ हजार लगानी रहेको छ । लगानी उठ्ने गाह्रो रहेको क्षेत्रलाई सेनाले जोखिमयुक्त ठानेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।