द्वन्द्वग्रस्त इजरायलबाट आज २ सय ५४ विद्यार्थीको उद्धार गरि नेपाल ल्याइदै

पोस्टमार्टमलगायका प्रक्रिया पूरा नभएकाले १० विद्यार्थीको शव भने आज नल्याइने

आश्विन २५,२०८०

-आस्था न्युज

असोज २५, २०८० काठमाडौं ।  
प्यालेस्टाइनी हमास समूहको हमलापछि युद्धग्रस्त इजरायलबाट नेपालले आफ्ना नागरिक फिर्ताको अभियान थालेको छ । पहिलो चरणमा बिहीबार दुई सय ५४ विद्यार्थीलाई उद्धार गरेर स्वदेश फर्काउन लागेको हो ।
 
इजरायलबाट तीन सय ५० नेपाली नागरिकले स्वदेश फर्किने चाहना राख्दै विवरण टिपाएकामा पहिलो चरणमा दुई सय ५४ विद्यार्थी ल्याउन लागिएको हो । 
 
बिहीबार साँझ उनीहरूलाई स्वदेश ल्याइपुर्‍याउने सेड्युल छ । दुई सय ७४ सिट क्षमताको नेपाल एयरलाइन्सको एयरबस ३३० वाइडबडी जहाज बुधबार राति इजरायलका लागि प्रस्थान भएको छ । वरिष्ठ क्याप्टेन श्रवण रिजालको नेतृत्वमा उद्धार हुन लागेको हो । परराष्ट्रमन्त्री एनपी साउदसमेत उद्धारमा प्रत्यक्ष सहभागी भएका छन् । 
 
बुधबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आफू पनि नागरिकको उद्धारमा प्रत्यक्ष सहभागी हुन लागेको परराष्ट्रमन्त्री साउदले बताए । 
 
‘हामी इजरायलमा गएका हाम्रा युवा विद्यार्थीलाई आत्मविश्वास जगाउन, उहाँहरूको पीडामा ऐक्यबद्धता जनाएर देश फर्काउन चाहन्छौँ । यही उद्देश्यसाथ इजरायल जाँदै छु,’ इजरायल प्रस्थान गर्नुअघि परराष्ट्रमन्त्री साउदले नयाँ पत्रिकासँग भने, ‘यो दुस्खको समयमा हामी राष्ट्रिय एकता अभिव्यक्त गर्न चाहन्छौँ । यो सबैबाट होस् भन्ने सरकारको अभिप्राय छ ।’ परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरण पनि उद्धारका लागि इजरायल जाने टोलीमा छन् । 
 
इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले नेपाल एयरलाइन्सको चार्टर विमानबाट पहिलो चरणमा दुई सय ५४ विद्यार्थीलाई स्वदेश फर्काउन लागिएको जानकारी दिइन् ।
 
नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार बिहीबार बिहान स्थानीय समयअनुसार ९ः१० बजे जहाज तेलअभिभ पुग्नेछ । त्यहाँबाट ११ः१० बजे उडेर दुबई हुँदै साँझ ८ः२० बजे काठमाडौंमा जहाज अवतरण गर्ने तालिका छ । काठमाडौंबाट दुबईसम्म व्यापारिक उडानबाट जहाज जानेछ । 
 
नेपाली दूतावासका अनुसार बिहीबार बिहानसम्म स्वदेश फर्किने चाहना राखेका सबै विद्यार्थी इजरायलको राजधानी तेलअभिभ पुग्नेछन् । बुधबार साँझसम्म ५५ जना नेपाली विद्यार्थी सुरक्षित स्थानमा स्थानान्तरण भएका छन् । उनीहरूमध्ये सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वनविज्ञान विश्वविद्यालयका २३ छन् । 
 
उपचाररत अवस्थामा रहेका सुदूरपश्चिम विश्वविद्यालयका चारजना विद्यार्थीमध्ये दुईजना डिस्चार्ज भएका छन् । उनीहरूसँगै रहेका, तर हाल बेपत्ता भएका विपिन जोशीको खोजी कार्य जारी रहेको पनि परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । 
 
पोस्टमार्टमलगायका प्रक्रिया पूरा नभएकाले १० विद्यार्थीको शव भने आज नल्याइने
नागरिक फिर्ताका लागि पहल गरेको सरकारले पोस्टमार्टमलगायत कानुनी प्रक्रिया पूरा नभएको भन्दै मृतक १० विद्यार्थीको शव तत्काल नल्याउने भएको छ ।
 
कानुनी प्रक्रिया पूरा गरेर शव पनि छिट्टै ल्याउने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । ‘इजरायल सरकारले शव हस्तान्तरण गरेपछि नेपाल ल्याउने प्रक्रिया सुरु गर्छौँ,’ लम्सालले भनिन् ।
 
परराष्ट्रमन्त्री साउदलाई इजरायल सरकारले शव नेपाल ल्याउन सहयोग गर्ने आश्वासन दिइसकेको छ । इजरायलमा लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत कृषि विज्ञानमा अध्ययनरत विद्यार्थी ११ महिने इन्टर्नका लागि गएका हुन् । आजका पत्रपत्रिकामा खबर छन् ।