सुनसम्बन्धी जाँचबुझ आयोगले सिआइबीसँग माग्यो सबै अनुसन्धान प्रतिवेदन

आश्विन २५,२०८०

-आस्था न्युज

असोज २५, २०८० काठमाडौं ।  
सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी गठित जाँचबुझ आयोगले नेपाल प्रहरीसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भई आएको सुनसम्बन्धी अनुसन्धान प्रतिवेदन मागेको छ । आयोगले मोटरसाइकलरस्कुटरको ब्रेकसुमार्फत भएको ६०.७१६ केजी र विद्युतीय चुरोट (भेप)मा लुकाई तस्करी गरिएको साढे नौ किलो सुनको अनुसन्धान प्रतिवेदन माग गरेको हो । 
 
आयोगले शुक्रबार नै प्रहरी प्रधान कार्यालयलाई घटनासँग सम्बन्धित प्रतिवेदन उपलब्ध गराउन पत्र पठाएको छ । प्रधान कार्यालयले आयोगको पत्र मातहतको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा मंगलबार नै पठाइसकेको छ । सुन तस्करीसम्बन्धी दुवै घटनाको सिआइबीले अनुसन्धान गरिरहेको छ । 
 
सिआइबी अनुसन्धानमा अध्ययन गर्न आयोगले प्रतिवेदन मागेको जाँचबुझ आयोग सदस्य तथा नेपाल प्रहरीका पूर्वएआइजी सहकुल थापाले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।