अतिक्रमित नेपाली भूमि लिपुलेक-कालापानी क्षेत्रमा मोदीको भ्रमण, नेपालीलाई प्रवेशमा रोक !

आश्विन २६,२०८०

-आस्था न्युज

असोज २६, २०८० काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अतिक्रमित नेपाली भूमि लिपुलेक-कालापानी क्षेत्रमा कूटनीतिक अभ्यासविपरीत भ्रमण गरेका छन् ।
 
भारतद्वारा अतिक्रमित दार्चुलाको व्यास गाउँपालिका-१ स्थित कुटी, नावी, गुञ्जी क्षेत्रमा बिहीबार मोदी र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भ्रमण गरेका हुन् । हेलिकोप्टरबाट बिहानै कुटीको जोलिङकाङ हेलिप्याडमा उत्रिएका मोदीले त्यहाँस्थित पार्वतीकुण्डमा पूजापाठ र कैलाश मानसरोवरको दूरदर्शन गरेका थिए ।
 
हेलिकोप्टरबाट साढे ८ बजे नेपाली भूमि कुटीस्थित जोलिङकाङ उत्रिएका उनले त्यहीँबाट मानसरोवरको दर्शन गरेका हुन् । भारतबाट अतिक्रमित अर्को बस्ती गुञ्जीमा उनले स्थानीयसँग छलफल गरेका थिए भने कुटी, नावी, गुञ्जीका साथै भारतका रोङकाङ, नपलच्यु, गर्ब्याङ गाउँका बासिन्दासँग भेटघाट गरे । नेपाल र भारतका ६ वटै बस्तीका केही व्यक्तिसँग छुट्टै छलफल पनि गरेका थिए । छलफलमा करिब ३० जना सहभागी गराइएको एक स्थानीयले बताए ।
 
मोदीले कालापानीलगायत व्यास क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो-तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बलका अधिकारीसँग छलफल गरेका थिए । भारतको अल्मोडास्थित जागेश्वर धाममा पूजा गरेर पिथौरागढमा आयोजना गरिएको जनसभालाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री मोदीसँग उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका छन् ।
 
अतिक्रमित नेपाली भूमिमा भारतीय प्रधानमन्त्री आउँदा नेपालीलाई आधिकारिक जानकारी नभएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् । यसअघि पनि भारतले कर्मचारी र नेताहरूको भ्रमणबारे जानकारी नदिने गरेको उनले बताइन् । ‘भारतीय प्रधानमन्त्री आउने कुरा पनि हामीले हाम्रो आन्तरिक सुरक्षा संयन्त्रबाट थाहा पाइएको हो । त्यसबाहेक अन्य धेरै जानकारी छैन,’ उनले भनिन् ।
 
प्रधानमन्त्री मोदीले बिहीबार भ्रमण गरेको अतिक्रमित भूमिमा नेपालीलाई भने प्रवेश निधेष छ । उक्त क्षेत्रका भारतीय नागरिकलाई पनि प्रशासनको अनुमतिबेगर जान मिल्दैन । मोदीको भ्रमणलाई लक्षित गरी भारतीय पक्षले सीमा क्षेत्रमा झन्डै १० दिनदेखि सुरक्षा जाँच बढाएको थियो । भारतीय प्रशासनले साता दिनदेखि छियालेकभन्दा माथि जाने ‘बहुयात्रा’ अनुमतिपत्र दिन रोकेको थियो । ओमपर्वत र आदिकैलाश दर्शनका लागि भारतका विभिन्न ठाउँबाट दार्चुलापारिको धारचुला क्षेत्रमा पुगेर हजारौं भारतीय दर्शनार्थी रोकिएका छन् । 
 
धारचुलाबाट करिब ८० किलोमिटर उत्तरको छियालेकभन्दा माथि भारतीय प्रशासनको अनुमतिबेगर जान पाउँदैनन् । मोदीको भ्रमणका लागि छियालेक माथिल्लो क्षेत्रका बासिन्दालाई तल–माथि आउजाउ गर्न नदिएको र मजदुरीका लागि माथिल्लो क्षेत्रमा पुगेका नेपालीहरूलाई केही दिनअघि नै घर फर्काएको स्थानीय जमनसिंह कुँवरले बताए ।
 
छियालेकभन्दा माथि करिब ४ किलोमिटर उत्तर सीतापुलसम्म मात्रै बहुयात्रा अनुमति दिने गरेको छ । सीतापुल तरेर व्यासको छाङरु र टिंकरका बासिन्दा मौसमी बसाइँ सर्दै आएका छन् । आजका पत्रपत्रिकामा खबर छन् ।