आखै अगाडी रकेटको छर्रा देख्दा पनि इजरायलबाट फर्कने हतारमा छैनन् नेपाली

कार्तिक ०२,२०८०

-आस्था न्युज

कात्तिक २, २०८० काठमाडौं । 
झापाका धनबहादुर देवानले इजरायलको दक्षिणी भाग किरातगातमा रकेट नदेखेको दिन छैन । गाजा क्षेत्रको नजिक रहेको किरातगातलाई लक्षित गरी प्यालेस्टाइनी विद्राही समूह हमासले कैयौं पटक रकेट प्रहार गरिसकेको छ । हालै एउटा रकेटको छर्रा देवान बस्ने घरमा पनि खसेको थियो ।
 
‘केही दिनअघि कोठाभित्रै रकेटको छर्रा आइपुग्यो । छर्रा तलमाथि गरेको देख्दा एकछिन त सात्तो नै गयो,’ उनले भने, ‘हामी बोर्डरछेउ बस्नेलाई यस्तो कुरा खासै नौलो लाग्दैन ।’ मंगलबार मात्रै पनि हमासले बिहानदेखि रातिसम्म सयौं रकेट प्रहार गरेको थियो । त्यसमध्ये अधिकांश दक्षिणी इजरायलको भागमा पर्ने नेगेभ, साफेला, लाकहिसा, बिरसेवालगायत स्थानलाई लक्षित गरिएको थियो । ‘आकाशमा आउने रकेटको खास डर छैन,’ देवानले भने, ‘दक्षिण भेगमा त घण्टाघण्टामा रकेट झर्छ । त्यो आकाशमा नै निस्तेज हुन्छ ।’
 
इजरायल–प्यालेस्टाइनबीचको पछिल्लो द्वन्द्वलाई लिएर पूरै मध्यपूर्व तनावमा रहेका बेला इजरायलमा दशक बिताइसकेका नेपालीहरू भने धेरै आत्तिएका देखिँदैनन् ।
 
उनीहरू हमासले प्रहार गर्ने रकेट इजरायली सेनाले आकाशमै निस्तेज पर्नेमा ढुक्क छन् । ‘अहिलेको युद्ध भयंकर हो तर तेलअभिभभन्दा निकै टाढाको युद्ध हो । तेलअभिभमा बस्नेहरूका लागि भने सामान्य छ,’ १० वर्षदेखि इजरायलमा कियरगिभरका रूपमा कार्यरत मोरङका प्रकाश लिम्बूले कान्तिपुरसँग भने, ‘हमासले फाल्ने रकेट आकाशमै निस्तेज हुने हुनाले हामी ढुक्क छौं ।’
 
गत अक्टोबर ७ मा रकेट निस्तेज बनाउने इजरायलको आइरन डोम चुकेपछि भने ठूलो क्षति बेहोर्नुपर्‍यो । उक्त हमलामा परेर मंगलबारसम्म १४ सयभन्दा बढी इजरायलीको ज्यान गइसकेको छ । हमासको आक्रमणमा १० नेपाली विद्यार्थीको समेत मृत्यु भएको थियो । उनीहरू सबै सुदूरपश्चिम विश्वविद्यालयबाट अर्न एन्ड लर्न कार्यक्रमअन्तर्गत इजरायलको कृषि क्षेत्रको अध्ययनका लागि आएका थिए । नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात छ । 
 
हमासको आक्रमणमा घाइते पाँचमध्ये एक जना नेपाल फर्किसकेका छन् भने चार जनामध्ये तीनको तेलअभिभकै अस्पतालमा उपचार भइरहेको छ । एक जना अस्पतालबाट डिस्चार्ज भएर इजरायलस्थित नेपाली दूतावासमा आराम गरिरहेका छन् । आजको कान्तिपुरमा खबर छ ।