बारामा एक महिनाको अन्तरालमा तीन जनाको हत्या, १० जना पक्राउ

कार्तिक १५,२०८०

-आस्था न्यूज

कात्तिक १५, २०८० काठमाडौं ।
बारामा ३५ दिनमा एक भारतीयसहित तीनजनाको हत्या भएको छ । सोमबार कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकार (सर्राफ)को हत्या भएको छ । त्यसअघि ९ असोजमा भारतीय नागरिक अजितकुमार सिंह र त्यसको अघिल्लो दिन ८ असोजमा पचरौता नगरपालिका– १ पिपरपातीका ३४ वर्षीय अमरेशकुमार सिंहको हत्या भएको थियो ।
 
रूपेश र अजितको गोली प्रहारबाट तथा अमरेशको धारिलो हतियार प्रहारबाट हत्या भएको हो । ९ असोजमा बारा पुगेका भारतको मोतीहारी, दर्पा थाना- १ सुक्लहिया गाउँका अजितको पचरौता नगरपालिका-६ लक्ष्मीनियास्थित पोखरीनजिक हत्या भएको थियो ।
 
उनको हत्यामा भारतको मोतीहारी जिल्ला, दर्पा थाना-१ सुक्लहियाका सुजितकुमार सिंह, चञ्चल पाँडे, मनीषकुमार सहनी र कामेश्वर सहनी संलग्न रहेको पाइएपछि पक्राउ गरेको छ । प्रहरीले घटनास्थलबाट एक थान गोली र एक थान गोलीको खोकासमेत बरामद गरेको थियो ।
 
अजितको हत्याको अघिल्लो दिन पूर्वसशस्त्र प्रहरी जवान अमरेशकुमार सिंहको हत्या भएको थियो । उनको शव फेला परेपछि प्रहरीले दुई भारतीय नागरिक राहुल साह र रामलाल महतोसहित चारजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनको शव नेपाल-भारत सीमास्थित दशगजा क्षेत्रमा फेला परेको थियो । 
 
बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार एक महिनामा भएका तीन हत्या घटनामको मुख्य कारण व्यक्तिगत रिसइबी रहेको पाइएको छ । भारत र नेपालमा आउजाउ सहज रहेको र त्यही बाटो अपनाउँदै घटना भएको पाइएको उनले बताए । 
 
स्वर्णकारको हत्या आरोपमा १० जना पक्राउ
 
शिक्षक रूपेश स्वर्णकारको हत्या आरोपमा बारा प्रहरीले एक महिलासहित १० जनालाई पक्राउ गरेको छ । ती महिला बाल एकता विद्यालयकी पूर्वलेखापाल हुन् । उनले नै हत्याको योजना बनाएको हुन सक्ने प्रहरीको आकलन छ । बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले पक्राउ पर्नेमा पाँच नेपाली र पाँच भारतीय रहेका छन् ।
 
‘घटनाको विस्तृत अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘हत्याको योजना ती महिला ९पक्राउ परेकी०ले बनाएको हुन सक्ने देखिएको छ ।’ प्रहरीका अनुसार दुईवटा मोटरसाइकलमा आएका चारजनाको समूहको गोली प्रहारबाट स्वर्णकारको हत्या भएको थियो । नेपाली मोटरसाइकलमा सवार भएका सुटरले टाउको र छातीमा गोली हानेका थिए । तर, मोटरसाइकलको नम्बर खुलेको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।