कक्षा ६ मा अध्ययनरत ४ लाख ३४ हजार विद्यार्थी साउनयता खाजाबाट वञ्चित

कार्तिक १५,२०८०

-आस्था न्यूज

कात्तिक १५, २०८० काठमाडौं ।
कक्षा ६ मा अध्ययनरत सामुदायिक विद्यालयका बालबालिका साउनयता खाजाबाट वञ्चित भएका छन् । अर्थ मन्त्रालयले बजेट उपलब्ध नगराउँदा करिब ४ लाख ३४ हजार विद्यार्थीको दिवा खाजा खोसिएको हो । 
 
अर्थ मन्त्रालयले कक्षा ५ सम्म अध्ययनरत बालबालिकालाई मात्र खाजा खान पुग्ने गरी बजेट उपलब्ध गराएका कारण कक्षा ६ का विद्यार्थीलाई साउनयता खाजा खुवाउन नसकिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
 
४ लाख ३४ हजार विद्यार्थीको खाजा खोसियो
गत वर्षकै खाजाको बजेट निकासा गर्न अर्थ मन्त्रालयले रोक लगाएको थियो । यसपालि कक्षा ६ का विद्यार्थीलाई खाजा खुवाउने हो कि होइन भनेर शिक्षा मन्त्रालयले अर्थलाई गत साउनमै पत्राचार गरेको थियो ।
 
अर्थले पत्रको कुनै जवाफ दिएको छैन । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बजेट अभावले ६ कक्षाका विद्यार्थीलाई खाजा खुवाउने कार्यक्रम रोकिएको जनाए । ‘कक्षा ५ सम्मकालाई मात्रै दिवा खाजा खुवाउन पुग्ने बजेट प्राप्त भएको छ,’ उनले भने, ‘रकम थप भएमात्र कक्षा ६ का विद्यार्थीलाई खाजा दिन सकिन्छ ।’
 
०७९र८० देखि सरकारले दिवा खाजा कार्यक्रम कक्षा ६ सम्म विस्तार गर्ने घोषणा गरेको थियो । तर त्यतिबेला नै स्थानीय तहमा बजेट पठाउँदा ५ सम्मका ३० लाख ३६ हजार विद्यार्थीलाई मात्र पुग्ने रकम विनियोजन गरिएको थियो । गत वर्ष नै १ अर्ब १५ करोड रकम दिवा खाजाका लागि अपुग भएको शिक्षा मन्त्रालयले जनाएको छ । 
 
चालु आर्थिक वर्षमा सबै बालबालिकालाई पुग्ने गरी दिवा खाजा शीर्षकमा बजेट विनियोजन नभएको शिक्षा मन्त्रालयको योजना महाशाखाले जनाएको छ । अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले बजेट वक्तव्यबाट विनियोजन गरिएको भन्दा दिवा खाजा कार्यक्रममा थप रकम निकासा गर्न सक्ने अवस्था नरहेको जनाए । आजको कान्तिपुर दैनिकमा खबर छ ।