भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ३९८ विद्यालय क्षतिग्रस्त

३९ विद्यार्थी, दुई शिक्षिका र एक कार्यालय सहयोगीको मृत्यु:

कार्तिक २३,२०८०

-आस्था न्युज

कात्तिक २३, २०८० काठमाडौं ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका- १४ ज्यामिरकोट टाकुरामा रहेको जनविकास माविमा अध्ययनरत तीन विद्यार्थीले भूकम्पमा ज्यान गुमाए । कक्षा आठ र कक्षा पाँचमा अध्ययनरत एक छात्र र दुई छात्रा गुमाएको जनविकास माविको भवन पनि भूकम्पमा जोगिएन । 
 
विद्यालयका दुई कच्ची भवन कामै नलाग्ने गरी पूर्ण रूपमा ध्वस्त भएका छन् । एउटा पाँचकोठे र अर्को तीनकोठे भवन पूर्ण रूपमा ध्वस्त भएको प्रधानाध्यापक दीपकसंगम थापाले जानकारी दिए । भूकम्पका कारण विद्यालय खण्डहर बनेको उनले बताए । तीन सय ५० विद्यार्थी रहेको विद्यालय दसैँपछि तिहारसम्मका लागि बिदा नै छ । ३ मंसिरदेखि खोल्ने शैक्षिक तालिका रहे पनि भूकम्पले क्षतिग्रस्त बनेपछि तोकिएको समयमा खोल्ने अवस्था नरहेको प्रधानाध्यापक थापाले बताए । 
 
‘पक्की भवन त खासै केही भएका छैनन्, करिब डेढ सय विद्यार्थीलाई बस्ने ठाउँको अभाव छ,’ उनले भने, ‘आधाजसो विद्यार्थीलाई राख्ने ठाउँ व्यवस्था नगरी तत्काल विद्यालय खोल्न सक्ने अवस्था छैन ।’ सरकार र दाताको सहयोग प्राप्त भए विद्यालयलाई थप व्यवस्थित गरेर चलाउन सकिने उनको भनाइ छ । 
 
सानीभेरी गाउँपालिका– १० अर्माडाँडाको सरस्वती माविको पनि दुई–दुई कोठाका दुई भवन पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । तीन सय ९५ विद्यार्थी अध्ययनरत रहेको विद्यालय तिहारपछि खोल्ने क्यालेन्डर भए पनि तत्काल सञ्चालनमा ल्याउन समस्या छ । प्रधानाध्यापक पदमबहादुर ओलीले समयमै विद्यालय सञ्चालन गर्न सकिने अवस्था नरहेको र वैकल्पिक व्यवस्थापनका विषयमा सोचिरहेको बताए । तर, कसरी विद्यालय सञ्चालन गर्ने भन्ने विषयमा ठोस योजना बनिनसकेको उनको भनाइ छ । त्यस्तै, विद्यार्थीहरू मनोवैज्ञानिक रूपमा त्रासमा रहेकाले पनि समयमै विद्यालय सञ्चालन हुने अवस्था नरहेको ओलीले बताए ।
 
सानीभेरी गाउँपालिका– ५ को कालिका आधारभूत विद्यालयका त दुई भवन पूर्ण रूपमा ध्वस्त मात्रै भएका छैनन्, विद्यालयपरिसरमा नै धाँजा फाटेको छ । ‘अब हाम्रो विद्यालय अहिले सञ्चालन भएको ठाउँमा चलाउन सकिने अवस्था छैन, दुई–दुईकोठे दुईवटा भवन पूर्ण रूपमा भत्किएका छन्, अर्को एउटा दुईकोठे भवन बस्न नमिल्ने गरी चर्किएको छ,’ प्रधानाध्यापक रणजित पुनले भने, ‘भवनको के कुरा गर्नु, जमिन नै धाँजा फाटेर बस्न सकिने अवस्था छैन ।’ ९५ विद्यार्थी अध्ययनरत यो विद्यालयमा बालविकासदेखि कक्षा पाँचसम्म पढाइ हुन्छ । 
 
जाजरकोटमा ३२८ विद्यालयका १७३ भवन ध्वस्त, रुकुम पश्चिममा ७० विद्यालयमा क्षति 
सामुदायिक र संस्थागत गरी चार सय ४४ विद्यालय रहेको जाजरकोटमा अधिकांश विद्यालयका भौतिक संरचना ध्वस्त भएका छन् । हालसम्मको विवरणअनुसार तीन सय २८ विद्यालयका एक सय ७३ भवन ध्वस्त भएको शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका सूचना अधिकारी प्राविधिक सहायक तिलक भट्टराईले जानकारी दिए । उनका अनुसार पाँच सय १६ कक्षाकोठा ध्वस्त भएका छन् । त्यस्तै, एक सय ३९ शौचालय, ४३ घेराबार, पाँच विज्ञान प्रयोगशाला र दुई आइसिटी ल्याबमा पूर्ण क्षति पुगेको छ । 
 
त्यस्तै, जिल्लाभर चार सय आठ विद्यालय भवनका एक हजार एक सय ४६ कक्षाकोठा, एक सय ९० शौचालय, ६१ घेराबार, नौ विज्ञान प्रयोगशाला, ११ पुस्तकालय र १५ आइसिटी ल्याबमा आंशिक क्षति पुगेको छ । यी भौतिक संरचनामा क्षति पुग्दा झन्डै ४० हजार विद्यार्थी प्रत्यक्ष प्रभावित हुने भट्टराईले बताए । जिल्लाभर ७१ हजार सात सय ६८ विद्यार्थी रहेको उनले बताए । 
 
उता रुकुम पश्चिममा ५३ विद्यालयमा पूर्ण तथा १७ मा आंशिक क्षति भएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका अनुसार आठबिसकोट नगरपालिकामा मात्रै ४३ विद्यालयमा क्षति पुगेको छ । ३३ विद्यालयमा पूर्ण र नौवटामा आंशिक क्षति भएको इकाइ प्रमुख ताराप्रकाश पुनले बताए । त्यस्तै, सानीभेरी गाउँपालिकामा १२ मा पूर्ण र सातमा आंशिक क्षति भएको गाउँ शिक्षा शाखा प्रमुख भूपालसिंह विष्टले बताए । त्यसबाहेक त्रिवेणी गाउँपालिकामा तीन विद्यालयमा पूर्ण, चौरजहारी नगरपालिकामा दुई विद्यालयमा पूर्ण, बाँफिकोट गाउँपालिकामा दुई विद्यालयमा पूर्ण तथा मुसिकोट नगरपालिकामा एकमा पूर्ण र एकमा आंशिक क्षति पुगेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । आंशिक क्षति पुगेका विद्यालयमा पनि विद्यार्थीलाई भित्र राखेर पढाउन सकिने अवस्था नरहेको इकाइ प्रमुख पुनले बताए । 
 
दुई जिल्लामा गरी ३९ विद्यार्थी, दुई शिक्षिका र एक कार्यालय सहयोगीको मृत्यु
जाजरकोटमा २१ र रुकुम पश्चिममा १८ गरी ३९ विद्यार्थीले भूकम्पमा ज्यान गुमाएका छन् । त्यस्तै, जाजरकोटमा दुई शिक्षिकाको पनि मृत्यु भएको छ भने रुकुम पश्चिममा एक कार्यालय सहयोगीको ज्यान गएको छ । शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटको तथ्यांकअनुसार जिल्लाभर ४८ विद्यार्थी घाइते भएका छन् । त्यस्तै, रुकुम पश्चिमा मृत्यु भएकामा १२ विद्यार्थी आठबिसकोट नगरपालिका र ६ जना सानीभेरी गाउँपालिकाका छन् । जिल्लामा एक शिक्षक र एक विद्यार्थी घाइते भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।