डिडिसीका महाप्रबन्धक सञ्जीव झालाद्वारा दूध बेचेको १७ करोड अपचलन, जिम्मेवारीबाट हटाइयो

पौष २४,२०८०

-आस्था न्युज

पुस २४, २०८० काठमाडौं ।
दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेकोसहित विभिन्न १० आरोपमा दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई सरकारले जिम्मेवारीबाट हटाएको छ । कृषिमन्त्री डा। बेदुराम भुसालको निर्देशनमा सोमबार झालाई जिम्मेवारीमुक्त गरी मन्त्रालय तानिएको हो । 
 
झालाई जिम्मेवारीमुक्त गरी मन्त्रालय तानिएको पत्र सोमबार प्राप्त भएको डिडिसीको सञ्चालक समिति अध्यक्ष डा। बेदबहादुर क्षेत्रीले पुष्टि गरे । ‘मलाईसमेत बोधार्थ दिएर डिडिसीका महाप्रबन्धक सञ्जीव झालाई मन्त्रालय तानिएको पत्र आज ९सोमबार० दिउँसो प्राप्त भएको छ,’ क्षेत्रीले भने, ‘उहाँ आएदेखि संस्थान घाटामा थियो भने जिम्मेवारीअनुसारको उत्तरदायित्व बहन गर्ने क्षमतामा पनि कमजोरी रहेको हामीले पाएका छौँ ।’
 
अब आरोपमाथि अनुसन्धान गरी झामाथि कारबाही प्रक्रिया अघि बढ्नेछ । विगतमा डिडिसीले क्षेत्रीय कार्यालयबाटै दूध खरिद तथा बिक्रीको रकम संकलन र भुक्तानी गर्दै आएकोमा झा आएयता सबै रकम केन्द्रीय कार्यालयमै संकलन र यतैबाट भुक्तानी गर्दै आएका थिए । जसकारण नियमित प्रणालीमा दूध बिक्री गरेको १७ करोड रुपैयाँ दाखिला भएको नदेखिएको मन्त्रालय स्रोतले जानकारी दियो । ‘करिब दुई वर्षको अवधिमा दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला भएको देखिएन । यसबारे सोधीखोजी गर्दा सन्तोषजनक जवाफसमेत नआएको र झाले अपचलन गरेको आशंका देखिएपछि उनलाई जिम्मेवारीमुक्त गरी मन्त्रालय तानिएको हो,’ स्रोतले भन्यो ।
 
डिडिसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्नसमेत सक्रियता नदेखाएको झामाथि आरोप छ । उनलाई गत दसैँअगाडि नै सो बक्यौता तिर्न निर्देशन दिए पनि दसैँ र तिहारमा विभिन्न अफर ल्याएर दूध धेरै बिक्री गर्ने र पैसा जम्मा गरेर किसानको रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएका थिए । तर, बक्यौता तिर्नुको साटो झन् वृद्धि भएको र सो रकम तिर्नुको सट्टा विभिन्न बहानाबाजी गरेको मन्त्रालयको भनाइ छ ।आजको नयाँ पत्रिकामा खबर छ ।