यि हुन् ‘हाई प्रोफाइल’ प्रतिवादी रहेका दुई मुद्दा तीन दिनदेखि हेर्दाहेर्दैमा

माघ ०५,२०८०

-आस्था न्यूज

माघ ५, २०८० काठमाडौं ।
विशेष अदालतमा पूर्वसांसद इच्छाराज तामाङसमेत ६ जना प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा र पूर्वमन्त्रीहरू तथा उच्चपदस्थ कर्मचारीहरूसमेत प्रतिवादी रहेको ललितानिवास प्रकरणको मुद्दा तीन दिनदेखि हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको छ । मंगलबारदेखि हेर्दाहेर्दैमा राखेर सुनुवाइ गरिरहेकोमा शुक्रबार पनि त्यसले निरन्तरता पाउँदै छ । 
 
विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार दुई महत्वपूर्ण र चर्चित मुद्दा सँगसँगै सुनुवाइ भएपछि विशेषमा भिडभाड पनि बढेको छ । ‘दुवै मुद्दा एकैसाथ ओपन हुँदा भिड बढेको हो । भिडभाड व्यवस्थापन गर्दै छौँ,’ उनले भने ।
 
दुवै मुद्दा सँगसँगै सुनुवाइ हुँदा कतिपय कानुन व्यवसायी दुवै मुद्दामा रहेका कारण मंगलबार खाना समयपछि मात्रै इच्छाराज तामाङ प्रतिवादी रहेको मुद्दामा सुनुवाइ सुरु भएको थियो । त्यस्तै, तामाङको सहकारीबाट पीडितहरू पनि विशेषको सुनुवाइमा पुगेका छन् । 
 
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १६ भदौ ०७९ मा सिभिल सहकारीका सञ्चालक तथा अध्यक्ष इच्छाराज तामाङमाथि मुद्दा दायर गरेको थियो । जसमा सिर्जना शाक्य, प्रतीक्षा तामाङ, प्रतिष्ठा तामाङ, केशवलाल श्रेष्ठ र मीनाकुमारीलाई प्रतिवादी बनाइएको छ । इच्छाराजविरुद्ध तीन अर्ब ३१ करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गरिएको छ । 
 
उनीविरुद्धको ठगीको मुद्दा हाल जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । जसमा पाँच अर्ब ६७ करोड रुपैयाँभन्दा बढी बिगो कायम गरिएको छ । यो मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सुनुवाइ गर्दै छ । आजको नयाँ पत्रिकामा खबर छ ।