अर्थतन्त्रले गति लिन नसक्दा आयातसँगै निर्यात व्यापार पनि खुम्चिँदै

माघ ०५,२०८०

-आस्था न्यूज

माघ ५, २०८० काठमाडौं ।
न्यून मागको दबाब झेलिरहेको अर्थतन्त्रले गति लिन नसक्दा आयातसँगै निर्यात व्यापार पनि खुम्चिँदै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको व्यापार तथ्यांकले पनि अर्थतन्त्रले गति लिन नसकेको पुष्टि गर्छ ।
 
विभागको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ५ खर्ब १२ अर्ब रुपैयाँको आयात भएको छ । उक्त रकम आर्थिक वर्ष ०७९र८० को सोही अवधिको तुलनामा ३।७९ प्रतिशत कम हो । गत आर्थिक वर्षको ४ महिनामा ५ खर्ब ३२ अर्बको आयात भएको थियो ।
 
चालु आर्थिक वर्षको पहिलो ४ महिनाको निर्यात व्यापार पनि ७.६८ प्रतिशतले घटेर ५० अर्ब ५६ करोड रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५४ अर्ब ७७ करोडको निर्यात भएको थियो । ५ महिनाको तथ्यांक विश्लेषण गर्दा आयात ३.३९ प्रतिशतले घटेर ६ खर्ब ४२ अर्ब २० करोडमा सीमित भएको छ । निर्यात व्यापार पनि ६.०९ प्रतिशतले घटेर ६३ अर्ब २० करोडमा झरेको छ ।
 
चालु आर्थिक वर्षको ६ महिनासम्म पनि आयात निर्यात व्यापार खुम्चिने क्रम रोकिएको छैन । गत आर्थिक वर्षको पहिलो ६ महिनामा ७ खर्ब ९२ अर्ब ६६ करोडको आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ७ खर्ब ६८ अर्ब १६ करोड रुपैयाँमा झरेको छ । 
 
अर्थात् आयात व्यापार ३।०९ प्रतिशतले घटेको छ । निर्यात व्यापार पनि ७।२३ प्रतिशतले घटेर ७४ अर्ब ९६ करोड रुपैयाँमा सीमित भएको छ । जबकि गत आर्थिक वर्ष ०७९र८० को पहिलो ६ महिनामा ८० अर्ब ८० करोडको निर्यात भएको थियो ।
 
अहिले अर्थतन्त्रमा संकुचन आएको छ । उत्पादनसँगै उपभोग क्षमता पनि घटेको छ । विगतको तुलनामा डिजेल, उत्पादनमा आधारित कच्चा पदार्थको आयात पनि घटेको देखिन्छ । उद्योग व्यवसाय पूर्ण रूपमा चल्न सकेका छैनन् । पूर्वाधार र विकास निर्माणका काममा पनि सुस्तता आएको एक पूर्वअर्थ सचिवको भनाइ छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।