एनसेलको सेयर खरिद-बिक्री सम्झौता यथास्थितिमा कार्यान्वयन गर्न नहुने सुझाव

माघ १६,२०८०

-आस्था न्यूज

माघ १६, २०८० काठमाडौं ।
एनसेलको सेयर खरिद–बिक्री, अध्ययन तथा छानबिन समितिले आजियाटा ग्रुप बर्हाड मलेसिया र स्पेक्ट्रलाइट युकेबीच भएको एनसेलको सेयर खरिद–बिक्री सम्झौता यथास्थितिमा कार्यान्वयन गर्न नहुने सुझाव सरकारलाई दिएको छ । 
 
डेढ महिनाको अध्ययनपछि पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगाल संयोजकत्वको पाँच सदस्यीय समितिले सेयर खरिद–बिक्री सम्झौतामा उल्लेख गरिएको सेयर कारोबारको मूल्य र सर्तहरू अस्वाभाविक रहेको ठहर गर्दै सम्झौता यथास्थितिमा स्वीकार गर्न नहुने निष्कर्ष निकालेको हो । 
 
समितिले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ । समिति संयोजक शर्माले भने, ‘हाम्रो अध्ययनले मूलतः तीनवटा सुझाव दिएको छ । पहिलो– अहिलेको यथास्थितिमा सेयर खरिद–बिक्री स्विकार्नुहुँदैन भन्ने हो । दोस्रो– ०८६ पछि सरकारको स्वामित्वमा ल्याउनुपर्ने भन्ने हो । र, तेस्रो– प्रतिवेदनमा औँल्याइएका विषयहरू विश्लेषण गरेर आवश्यक निर्णय गर्नू भन्ने हो ।’
 
कानुनबमोजिम खरिद–बिक्रीकर्ता दुवै पक्षले नियामक निकायमा निवेदन दिनुपर्नेमा हालसम्म पनि नदिएको, सेयर खरिद–बिक्री गर्नुअघि स्वीकृति लिनुपर्नेमा नलिएको र प्राप्त सेयर खरिद–बिक्री सम्झौताका सर्तहरू विश्लेषण गर्दा विश्वव्यापी मान्य सिद्धान्तअनुसार नभएको प्रतिवेदनको निष्कर्ष छ । 
 
प्रतिवेदनमा भनिएको छ, ‘विभिन्न दृष्टिकोणबाट खरिदकर्ताको क्षमता विश्लेषण गर्दा प्राविधिक, वित्तीय तथा व्यवस्थापकीय क्षमता पुष्टि हुने कागजात पेस नगरेको देखिँदा यो सेयर खरिद–बिक्री सम्झौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त हुने देखिएन ।’ प्रतिवेदनअनुसार हालसम्म आजियाटा ग्रुप बर्हाड मलेसिया र स्प्रेक्ट्रलाइट युकेबीचमा भएको भनिएको सेयर खरिद–बिक्री सम्झौता स्वीकृतिका लागि कानुनबमोजिम प्रक्रियासम्मत रूपमा निवेदन पेस भएको देखिएको छैन । आजको नयाँ पत्रिकामा खबर छ ।