मृत्यु पछिको न्यायः मुद्दा चलेको २८ वर्षपछि भ्रष्टाचार ठहर

माघ १८,२०८०

-आस्था न्यूज

माघ १८, २०८० काठमाडौं ।
३७ वर्षअघि तत्कालीन खाद्य संस्थान रोल्पाको सुलीचौर डिपोमा चामल हिनामिना भएको घटनामा विशेष अदालतले मुद्दा चलेको २८ वर्षपछि फैसला दिएको छ । डिपो उपशाखा प्रमुख छविलाल केसी (दाङको गढवा गाविसका) र सोही डिपोमा क्लर्क पदमा कार्यरत प्रेमनाथ योगी (बैतडीको दशरथ चन्द गाविस-३ का) विरुद्ध मुद्दा चलेकोमा केसीलाई दोषी ठहर गर्दै बिगोबमोजिम ३७ सय ३० रुपैयाँ जरिवाना र तीन महिना कैदको सजाय तोकिएको छ भने योगीलाई सफाइ दिएको छ । योगीको २२ भदौ ०६४ मै मृत्यु भइसकेको छ भने केसी फरार छन् । 
 
विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले फैसला दिएको हो । ०४३ मा भएको उक्त हिनामिनाविरुद्ध ०५२ मा जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता भएको थियो । जिल्ला प्रशासन कार्यालय रोल्पाबाट दायर उक्त अभियोगपत्रमाथि टेकेर गत ५ वैशाखमा विशेषमा दर्ता भएको मुद्दामा मंगलबार फैसला भएको हो । 
 
१ माघ ०४३ मा खाद्य संस्थान शाखाले ६.५० क्विन्टल उसिना मोटो चामल खुद्रा बिक्री भएको भन्दै बिल बनाएको भेटिएको थियो । प्रतिक्विन्टल पाँच सय ७० रुपैयाँका दरले बिक्री गरेको चामलको साथै त्यो चामल भरिएको पाँचवटा बोराहरूको थप २५ रुपैयाँका दरलेसमेत गरी कुल ३७ सय ३० रुपैयाँ भ्रष्टाचार गरेको अभियोग केसी र योगीमाथि थियो । 
 
दुवैलाई प्रतिवादी बनाई ‘खाद्य चामलको रकम हिनामिना गरी भ्रष्टाचार गरे’ भन्ने मुद्दा दर्ता भएको थियो । त्यति वेला विशेष अदालत गठन नै भएको थिएन । ०४७ को संविधानले खास प्रकृतिका मुद्दाहरूको कारबाही किनारा गर्न विशिष्टीकृत अदालत स्थापना गर्न सकिने व्यवस्था गरेपछि ६ भदौ ०५९ मा मात्रै विशेष अदालत स्थापना भएको हो । त्यसअघि भ्रष्टाचार निवारण ऐन, २०१७ लागू थियो । उक्त ऐनको परिच्छेद २ को दफा १३ बमोजिम जिल्ला प्रशासनले जिल्ला अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त दफामा राष्ट्रिय वा सार्वजनिक वा आफ्नो जिम्मा रहेको सम्पत्तिको हिनामिना, हानी–नोक्सानी वा दुरुपयोग गर्ने वा मास्नेलाई दण्ड सजाय हुने उल्लेख छ । 
 
विशेष अदालतमा उपलब्ध अभिलेखअनुसार नेपाल खाद्य संस्थान रोल्पाले २७ साउन ०५० मा पठाएको पत्रअनुसार शेखर पौडेलको जाहेरीले उक्त मुद्दा जिल्ला प्रशासनद्वारा २६ साउन ०५२ मा जिल्ला अदालतमा दर्ता भएको थियो । चामल बिक्री गरेको बिलमा क्लर्क पदमा कार्यरत योगीको दस्तखत भए पनि उनी घरायसी कामले बाहिर जानुपर्ने भन्दै उक्त रकम डिपो प्रमुख केसीलाई दिएको बताएका थिए । १३ जेठ ०४४ मा उक्त रकम लिवाङस्थित बैंकमा जम्मा गर्न दिएको, तर केसीले योगीको समेत हस्ताक्षर गरेर हिनामिना गरेको भन्दै डिपोका शेखर पौडेलले जाहेरी दिएका थिए । केसीबाट उक्त रकम असुल गर्न भनी योगीले समेत निवेदन दिएका थिए । 
 
त्यस वेला यस्तै कसुरमा खाद्यान्न ठगीमा मुद्दा चलाइने गरेकोमा यो घटनामा भने जिल्ला सरकारी वकिलको कार्यालयले भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा चलाउने राय प्रहरीलाई दिएको मिसिलका पत्रहरूबाट थाहा हुन्छ । उनीहरू अदालतमा हाजिर नभएको र जिल्ला अदालतबाट वारेन्टसमेत जारी भएको थियो । यो मुद्दा ६ असोज ०५३ मा मुल्तबीमा गएको देखिन्छ । यो मुद्दाबारे जानकारी भएपछि जिल्ला अदालत रोल्पाले ११ माघ ०७९ मा मुल्तबीबाट जगायो र सोही वर्ष १८ फागुनमा आफ्नो क्षेत्राधिकार नपर्ने भन्दै विशेषमा पठाउने आदेश गर्‍यो । 
 
‘विशेष अदालत गठन भएपछि विशेषको क्षेत्राधिकारभित्र पर्ने सबै मुद्दा विशेषमा आए । योचाहिँ आएको रहेनछ । जानकारी भएपछि यहाँ पठाइयो । मुल्तवी जगाउने आदेश भएर विशेषमा दर्ता भएको हो,’ विशेषका प्रवक्ता उपरजिस्ट्रार धनबहादुर कार्कीले भने ।  आजको नयाँ पत्रिकामा खबर छ ।