भिजिट भिसाको सेटिङमा संलग्न अदालतबाट सफाइ पाएलगत्तै विमानस्थलमै पोस्टिङ

माघ २३,२०८०

-आस्था न्यूज

माघ २३, २०८० काठमाडौं ।
भिजिट भिसाको सेटिङकै आरोपमा चार वर्षअघि भ्रष्टाचार मुद्दा खेपेका अधिकृत शैलेन्द्र ढकालले सफाइ पाएलगत्तै विमानस्थलमै सरुवा मिलाएका थिए । अहिले फेरि भिजिट भिसाकै अर्को मुद्दामा फरार भएका छन् ।
 
भिजिट भिसा मुद्दाका फरार अभियुक्त अध्यागमनका एक अधिकृतले विगतमा पनि भिजिट भिसाको सेटिङमा मुद्दा खेपेको खुलेको छ । अध्यागमन अधिकृत शैलेन्द्र ढकाललाई चार वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । सो मुद्दामा सफाइ पाएलगत्तै उनी विमानस्थल अध्यागमनमा पुगेका थिए । 
 
प्रहरीले गत साता ढकालसहित नौ अध्यागमन अधिकृतविरुद्ध भिजिट भिसामा सेटिङको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जसमा ढकालसहित आठ अधिकृत फरार छन् । उनी वर्षौँदेखि विमानस्थलमा भिजिट भिसाको सेटिङमा संलग्न रहेको पाइएको छ । 
 
अख्तियारले ५ कात्तिक ०७६ मा ढकालसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकोमा १३ असार ०७९ मा फैसला आएको थियो । जसमा अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीबाहेक अरूले सफाइ पाएका थिए । यसरी सफाइ पाएलगत्तै अधिकृत ढकाल विमानस्थलमा सरुवा मिलाएर फेरि पनि भिजिट भिसाको सेटिङमा सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।  आजको नयाँ पत्रिकामा खबर छ ।