एमबीबीएस अध्ययनका लागि राहुल नेपालीको सबै शुल्क सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयले तिर्ने

माघ २३,२०८०

-आस्था न्यूज

माघ २३, २०८० काठमाडौं ।
एमबीबीएस अध्ययनका लागि कैलालीका राहुल नेपालीको सम्पूर्ण शुल्क सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयले तिर्ने भएको छ । 
 
चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण भए पनि आर्थिक अभावले उनको भर्ना छुटेको थियो । प्रदेश सरकारको समेत आर्थिक छात्रवृत्ति पाएका उनी पनि भर्ना हुनबाट वञ्चित थिए ।
 
सोमबार चिकित्सा शिक्षा आयोगलाई पत्र लेख्दै मन्त्रालयले भर्ना शुल्क तिरिदिने उल्लेख गरेको हो । उनको भर्ना छुटेको बारे कान्तिपुरले समाचार प्रकाशन गरेको थियो ।
 
कैलालीको गौरीगंगा नगरपालिका–६ का राहुल विपन्न परिवारका हुन् । परिवारको आर्थिक अवस्था कमजोर भएकाले आफैंले जोहो गरेर भर्ना गर्न सक्ने अवस्था थिएन ।
 
राहुल युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटल भैरहवामा भर्ना पाउने सूचीमा छनोट भएका थिए । सो टिचिङ हस्पिटलले भर्नाको म्याद पुस २६ गतेदेखि माघ ४ गतेसम्म तोकेको थियो ।
 
हस्पिटलले एमबीबीएसको अध्ययनका लागि ४६ लाख लाग्ने कुल शुल्कमा १५ लाख भर्ना हुने बेला नै बुझाउनुपर्ने भनेको थियो ।
 
यसअघि राहुलले आफ्नो भर्ना छुट्न लागेको जानकारी गराउँदै सामाजिक विकास मन्त्रालयका कर्मचारी, मन्त्री सबैसँग गुहारेका थिए तर कसैले सुनेनन् । मन्त्रालयले टार्नका लागि माघ ३ गते ‘जो जससँग सम्बन्धित छ’ व्यहोराको पत्र थमाएको थियो । त्यस व्यहोराको पत्रलाई हस्पिटलले आधार मानेन् । प्रमुख सचिव हरि लम्सालसमेतको सक्रियतामा सोमबार मन्त्रालयले चिकित्सा शिक्षा आयोगलाई भर्नाका लागि सहजीकरण गरिदिन आग्रह गर्दै शुल्क तिर्ने पत्र लेखेको हो ।
 
अब राहुलले भर्ना पाउने–नपाउने यकिन फागुन पहिलो साता हुनेछ । भर्ना भएका विद्यार्थीहरूको पढाइ सुरु भएपछि कलेजहरूले सिट खाली हुने अवस्थामा भर्नाको (र्‍यापअप म्याचिङ लिस्ट)सूची निकाल्छन् । त्यस अवस्थामा सिट खाली हुन आए आफूले भर्ना पाउने सम्भावना रहने राहुलको भनाइ छ । 
 
राहुलको भर्ना सुनिश्चित गर्न प्रदेश सरकारले जिम्मेवारी लिएर थप पहल गर्नुपर्ने त्यस कार्यमा पहल गरेका नृप सुनारले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।