संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको दोहोरो नागरिकता, दोहोरै राहदानी

फाल्गुण ०२,२०८०

-आस्था न्यूज

फागुन २, २०८० काठमाडौं । 
संघीय संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेय ६ वर्ष उमेर घटाएर दोस्रो नागरिकता लिएको र त्यसको दुरुपयोग गरेर दुई थरी राहदानी बनाएको विवादमा तानिएका छन् । नागरिकता र राहदानीमा किर्ते गरेको प्रश्न उठेपछि निराकरण गर्नुको सट्टा सभामुख र राष्ट्रिय सभा अध्यक्षले उनलाई महासचिव बनाउन हतार गरेका थिए । 
 
पाल्पा जिल्ला प्रशासन कार्यालयका अनुसार पाण्डेयले २०४६ असार २८ मा पहिलो पटक नागरिकता ९नम्बर ३५० लिएका थिए र त्यसमा उनको जन्ममिति २०२६ असोज १५ कायम छ । यही जन्ममितिका आधारमा उनले २०४६ देखि २ वर्षसम्म गृह जिल्ला पाल्पाको शारदा निमावि, ख्याहामा शिक्षकका रूपमा काम गरेका थिए ।
 
त्यस्तै नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा तह ६ र ७ मा रही काम गरेको विवरण उनले नै संसद् सचिवालयलाई बुझाएका छन् ।
 
नागरिकता हराएको भन्दै उनले २०६६ भदौ ८ मा दोस्रो नागरिकता लिएका थिए, यसपटक भने उमेर ६ वर्ष घटाएर २०३२ पुस २६ कायम गरेका थिए । एक वर्ष नबित्दै खुला प्रतिस्पर्धाबाट सहसचिवस्तरको सहन्यायाधिवक्ता बने । यो जागिरको प्रक्रियामा भने उनले पुरानै नागरिकता प्रयोग गरेका थिए । पुरानै नागरिकताका आधारमा महान्यायाधिवक्ताको कार्यालयमा १३ वर्ष जागिर खाएका उनी बीचमा तीन वर्ष अख्तियारमा काजमा गए । त्यतिबेला लोकमानसिंह कार्की प्रमुख थिए । आजको कान्तिपुरमा खबर छ ।