राजनीतिक दबाबका भरमा सुरुङमार्गको अध्ययन गर्दै, फाइल थन्क्याउँदै

फाल्गुण ०२,२०८०

-आस्था न्यूज

फागुन २, २०८० काठमाडौं । 
राजनीतिक दबाबका भरमा बजेटले धान्नै नसक्ने गरी सुरुङमार्गहरूको सम्भाव्यता अध्ययन गरेर थन्क्याइएको छ । केही सुरुङको भने निर्माणमा जाने बजेट नभए पनि अध्ययनको काम धमाधम छ । अहिले ७ वटा सडक सुरुङमार्गको सम्भाव्यता अध्ययन सकिएको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।
 
उक्त सुरुङ निर्माण गर्न ९० अर्ब १५ करोड ३४ लाख रुपैयाँभन्दा बढी बजेट लाग्नेछ । कुलेखानी–भीमफेदी सुरुङमार्ग मकवानपुर र खुर्कोट–सिन्धुली सुरुङमार्गको सम्भाव्यता अध्ययन भएको चार वर्ष भयो । यसमा थप काम अघि बढ्न सकेको छैन । यी दुबै सुरुङमार्गको अध्ययन आर्थिक वर्ष ०७६र७७ मा सकिएको हो ।
 
सम्भाव्यता अध्ययनअनुसार कुलेखानी–भीमफेदी सुरुङमार्गको दूरी ३.१६५ र खुर्कोट–सिन्धुली सुरुङमार्गको दूरी ४.९० किमि छ । कुलेखानी–भीमफेदी सुरुङमार्ग निर्माणमा १० अर्ब ७२ करोड ३४ लाख र खुर्कोट सिन्धुली सुरुङमार्ग निर्माणमा १६ अर्ब ८१ करोड ८७ लाख रुपैयाँ लाग्ने अनुमान छ । त्यस्तै गोदावरीकुण्ड–काभ्रे–मनेदोभान सुरुङमार्गको पनि अध्ययन सकिएको छ । ७ अर्ब ९७ करोड ९९ लाख रुपैयाँ बजेट लाग्ने यो सुरुङमार्गको दूरी ३.६५ किमि छ ।
 
सुरुङमार्गहरूको सम्भाव्यता अध्ययन मात्र भएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यले बताए । ‘निर्माणमा जाने भएपछि यसको डिटेल डिजाइनको काम हुनेछ, अहिले कति लागत लाग्ने, कहाँनिर बनाउँदा उपयुक्त हुन्छ भनेर मात्र अध्ययन भएको हो,’ उनले भने, ‘कुल लागतबारे अहिले थाहा हुँदैन ।’ अहिले अनुमानित लागत मात्र निस्कने शाक्यको भनाइ छ ।
 
यस्तै पाल्पाको प्रबास-जोर्ते सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम सकिएको छ । चालु आर्थिक वर्षमा अध्ययन सकिएको यो सुरुङको दूरी ४ किमि रहने र लागत ९ अर्ब ३५ करोड ३६ लाख रुपैयाँ लाग्ने अनुमान छ । सम्भाव्यता अध्ययन भएको बागलुङ–बिहुँ–नरेठाँटी सुरुङ निर्माणमा २० अर्ब ४८ करोड ३५ लाख रुपैयाँ लाग्नेछ । जुन सुरुङको दूरी अध्ययन सकिएकामध्ये सबैभन्दा लामो हो । यसको दूरी ७।४४ किमि छ । आजको कान्तिपुरमा खबर छ ।