युक्रेनसँगको युद्धमा मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन रुस सहमत

फाल्गुण ०३,२०८०

-आस्था न्यूज

फागुन ३, २०८० काठमाडौं ।
युक्रेनसँगको युद्धमा मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन रुस सहमत भएको छ । रुसले यसका लागि मस्कोस्थित नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयलाई क्षतिपूर्ति रकम पठाउने जनाएको हो । त्यसअघि भने क्षतिपूर्ति रकम दाबी गर्न सम्बन्धित परिवार नै मस्को आउनुपर्ने रुसको सर्त थियो ।
 
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले रुस लचिलो हुँदै क्षतिपूर्ति रकम नेपाल पठाउन सहमत भएको बताए । ‘नेपाल सरकारले रुसस्थित दूतावासमार्फत क्षतिपूर्ति रकम उपलब्ध गराउन रुससँग प्रस्ताव राखेको थियो, जसमा रुसले सहमति जनाएको छ,’ उनले भने, ‘यसले कम्तीमा मृतकका परिवार नै क्षतिपूर्तिका लागि मस्को धाउनुपर्ने समस्या हटेको छ ।’ अब रुसले मस्कोस्थित दूतावासलाई क्षतिपूर्ति रकम दिने र उक्त रकम परराष्ट्र मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित परिवारका सदस्यले पाउने बताए । गैरकानुनी रूपमा भर्ती भएका नेपालीलाई फर्काउनेबारे भने अझै कुरा अघि बढ्न नसकेको उल्लेख गर्दै प्रवक्ता राईले क्षतिपूर्ति रकम पठाउने सम्बन्धमा मात्र रुसले सहमति जनाएको बताए ।
 
नेपालले रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता पठाउन र युद्धमा मारिएका नेपालीका परिवारलाई उचित क्षतिपूर्ति दिन कूटनीतिक नोट पठाएको थियो ।
 
रुस–युक्रेन युद्धमा मारिएका नेपालीको यकिन तथ्यांक हालसम्म रुस वा नेपाल सरकारबाट सार्वजनिक गरिएको छैन । मंसिरयता रेडजोनमा धेरै नेपाली खटिएको जानकारी आइरहँदा उनीहरूको यकिन अवस्था खुल्न नसकेको छैन । 
 
आफन्तको मृत्युबारे परिवारले आधिकारिक निकायबाट हालसम्म खबर पाउन सकेका छैनन् । मृतकका परिवारले न शव पाएका छन् न त क्षतिपूर्ति कहिले र कति पाउने भन्ने जानकारी पाएका छन् । रुसी–युक्रेन युद्धमा ज्यान गुमाउनेमध्ये हालसम्म १२ जना नेपालीको मात्र औपचारिक पुष्टि भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।