नेपाललाई साढे ६६ अर्ब रुपैयाँ सहयोग दिने बेलायतको घोषणा
-आस्था न्यूज
फागुन ९, २०८० काठमाडौं ।
बेलायतले नेपाललाई आगामी ६ वर्षभित्र ६६ अर्ब ६० करोड रुपैयाँ (४० करोड पाउन्ड) अनुदान दिने भएको छ । बेलायतले नयाँ विकास पोर्टफोलियो घोषणा गर्दै सन् २०३० सम्म उक्त सहयोग दिने जनाएको हो ।
बेलायतका विकास तथा अफ्रिका मामिला हेर्ने मन्त्री एन्ड्रयु मिचेलको दुईदिने (सोमबार र मंगलबारं नेपाल भ्रमणका क्रममा यस्तो सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र मन्त्री मिचेलको उपस्थितिमा अनुदान सहायतासम्बन्धी सम्झौतामा नेपाल र बेलायतबीच मंगलबार हस्ताक्षर भएको छ ।
‘नयाँ युके डेभलपमेन्ट पोर्टफोलियोले नेपाललाई जलवायु संकटसँग जुध्न, विकासका लागि अन्तर्राष्ट्रिय वित्त परिचालन गर्न, आर्थिक रूपान्तरण गर्न र सुशासन तथा समावेशीकरणमा सहयोग पुर्याउनेछ,’ बेलायती राजदूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘बेलायतले सन् २०३० सम्म ४० करोड पाउन्ड नेपाललाई सहयोग दिनेछ ।’
यसबाट १३ हजार पाँच सय रोजगारी सिर्जना हुने तथा थप एक अर्ब डलर लगानी आकर्षित गर्ने विश्वास लिइएको छ । त्यस्तै, २० लाख महिला र बालबालिकालाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच स्थापनाका लागि सहयोगीसिद्ध हुने बेलायती दूतावासले जनाएको छ ।
‘नयाँ विकास पोर्टफोलियोले विकासमा निजी क्षेत्रको अत्यावश्यक कोष परिचालन, जलवायु संकटसँग जुध्न र नेपालको आर्थिक वृद्धिलाई सहयोग पुर्याउनेछ,’ दूतावासले भनेको छ ।
नेपाल भ्रमणका क्रममा अन्तर्राष्ट्रिय विकासमन्त्री मिचेलले नेपालप्रति सद्भाव व्यक्त गरे । ‘हामी नेपालका लागि अझ फराकिलो र समृद्ध भविष्य सुरक्षित गर्ने महत्वाकांक्षा पनि साझा गर्छौँ,’ मिचेलले भने, ‘यो युके–नेपाल मित्रताको आगामी सय वर्षको अवधिमा चुनौती र अवसरको सामना गर्न उपयुक्त साझेदारीको अंश हो ।’
उनले नयाँ विकास पोर्टफोलियोले आठवटा कार्यक्रममा ध्यान केन्द्रित गरेको पनि बताए । ‘नेपालले सुरु गरेको हरित उत्थानशील र समावेशी विकासलगायतका अभियानहरूमा सहयोग गर्न पाउँदा युके गौरवान्वित छ,’ उनले भने, ‘मैले देखेको छु, नेपाल र युकेबीचको साझेदारी कसरी विकसित हुँदै आएको छ । मैले कर्णालीका ती दलित समुदायका सदस्यलाई भेटेको छु, जो युकेले सहयोग गरेको वातावरण उत्थानशील सिँचाइको फलस्वरूप अझै राम्रो अन्न उब्जनी गर्न सक्षम भएका छन् । मैले बुटवल अस्पतालमा रोकथाम गर्न सकिने किसिमका मृत्युलाई रोक्नका लागि दत्तचित्त भएर खटिइरहेका स्वास्थ्यकर्मीलाई भेटेको छु ।’
युकेको नयाँ विकासको अवधारणा नेपाली नेतृत्व र प्रणाली, मुद्रा परिचालन, सबैका लागि अवसर तथा नेपाली युवाको स्वदेशमै भविष्य सुनिश्चित गर्ने कार्यप्रति केन्द्रीकृत रहेको उनको जिकिर छ । बेलायतको नयाँ सहायताले १७ लाख जनतालाई लाभ पुग्ने पनि उनको विश्वास छ ।
बेलायती दूतावासका अनुसार मन्त्री मिचेलले बेलायती अन्तर्राष्ट्रिय लगानी (बिआइआई)को दुई करोड २० लाख डलरबराबरमा निर्माण भइरहेको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको भ्रमण गरेका थिए । मन्त्री मिचेलले हिन्दुकुश हिमालयमा जलवायु परिवर्तनको खतरा र युकेले नेपाललाई जलवायु जोखिम व्यवस्थापनमा कसरी सहयोग गरिरहेको छ भन्ने विषयमा पनि जानकारी लिएका छन् ।
उनले लुम्बिनी प्रादेशिक अस्पतालको वन–स्टप क्राइसिस म्यानेजमेन्ट सेन्टर पनि भ्रमण गरे । आजको नयाँ पत्रिकामा खबर छ ।