बंगलादेशसँग पिपिए दरमा बिजुली बेच्न जुटेन सहमति, प्राधिकरणको टोली फर्कियो

फाल्गुण ११,२०८०

-आस्था न्यूज

फागुन ११, २०८० काठमाडौं ।
विद्युत् खरिद–बिक्रीदरबारे ठोस सहमति नभएपछि नेपाल विद्युत् प्राधिकरणको टोली बंगलादेशबाट नेपाल फर्किएको छ । 
 
विद्युत् खरिद–बिक्रीदरलाई अन्तिम टुंगोमा पुर्‍याएर सम्झौता गर्न प्राधिकरणको टोली बुधबार बंगलादेश गएको थियो । तर, बिहीबार प्राधिकरण र पावर डेभलपमेन्ट बोर्ड (बंगलादेश) बीच भएको छलफलमा सहमति जुट्न नसकेपछि प्राधिकरणको टोली बिहीबार साँझ काठमाडौं आइपुगेको बैठकमा उपस्थित प्राधिकरणका एक अधिकारीले बताए । 
 
स्रोतका अनुसार प्राधिकरणले प्रस्ताव गरेको मूल्य महँगो भएको प्रतिक्रिया बंगलादेशको छ । प्राधिकरणले बिडमा प्रस्ताव गरेको दर भने सार्वजनिक गरेको छैन । ‘प्राधिकरणले प्रस्ताव गरेको दर र बंगलादेशले चाहेको दरमा केही अन्तर देखिएको छ । बिहीबारको बैठकमा यसबारे ठोस सहमति हुन सकेन,’ बैठकमा उपस्थित एक अधिकारीले भने, ‘बंगलादेशको बोर्डले पनि माथिल्लो निकायबाट सहमति लिनुपर्ने देखियो । यसबारे थप छलफल आवश्यक देखिएको छ । तर, ढिलो भने हुँदैन होला ।’
 
गत आइतबार बंगलादेशको डेली अब्जर्भर मिडियाले पनि नेपालबाट प्रस्ताव गरेको दर महँगो भएको समाचार प्रकाशित गरेको छ । बैठकमा उपस्थित नेपालका एक अधिकारीले पनि मूल्यको विषय गम्भीर रूपमा देखापरेको बताए । ‘मिलनविन्दुमा जान सक्ने ठाउँ भने छ । तर, बिहीबारकै बैठकमा यसबारे सहमति जुटेन,’ उनले भने । यद्यपि, बंगलादेश नेपालबाट विद्युत् किन्न भने एकदमै इच्छुक रहेको स्रोतको भनाइ छ । थप छलफल गरेर यसबारे सम्झौता गर्ने उनले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।