दुध बिक्री गरेको ६ अर्बभन्दा धेरै रकम नपाएको किसानको गुनासो, डिडिसीले मात्रै दुई अर्ब बढि तिर्नुपर्ने

फाल्गुण ११,२०८०

-आस्था न्यूज

फागुन ११, २०८० काठमाडौं ।
देशभरका किसानले दुध बिक्री गरेको ६ अर्बभन्दा धेरै रकम पाएका छैनन् । जसमध्ये सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) ले तिर्नुपर्ने मात्रै दुई अर्बभन्दा बढी रहेको राष्ट्रिय दुग्ध किसान सहकारी संघ लिमिटेडले जनाएको छ । सरकारी र अधिकांश निजी डेरी उद्योगले गत असोजदेखि किसानलाई दुधको पैसा दिएका छैनन् ।
 
दुध बिक्रीको ठूलो रकम बक्यौता रहँदा साना किसानलाई घरखर्च धान्नै गाह्रो भएको छ भने व्यावसायिक पशुपालन गर्ने किसान बैंकको किस्ता तिर्न र पशुआहारा खरिद गर्नसमेत नसक्ने अवस्थामा पुगेका छन् । त्यसमाथि खपत घटेको भन्दै उद्योगीले किसानको दुध सस्तोमा पनि उठाउन आनाकानी गरिरहेका छन् । त्यसको विरोधस्वरूप एक साताअघि (आइतबार) मात्रै चितवनका किसानले सडकमै दुध पोखेर आन्दोलन गरेका छन् ।
 
व्यावसायिक पशुपालन गर्ने फार्मबाट दैनिक औसतमा ७५ लिटरसम्म दुध बिक्री हुने गरेको राष्ट्रिय दुग्ध किसान सहकारी संघ लिमिटेडको तथ्यांक छ । ‘एकजना व्यावसायिक किसानको ६ महिनायता करिब १२ लाख जति बक्यौता बसेको छ,’ अध्यक्ष अमर कुँवरले भने, ‘दैनिक चार–पाँच लिटर दुध बिक्री गर्ने साना किसानको पनि एक लाखभन्दा बढी बक्यौता भइसकेको छ ।’
 
देशभर करिब ६ लाख दुग्ध किसान छन् । त्यसमध्ये करिब पाँच लाख साना किसान हुन् । किसानले चार प्रतिशत चिल्लो पदार्थ र आठ प्रतिशत ठोस पदार्थ भएको दुध अहिले प्रतिलिटर ६५ रुपैयाँमा दुध बिक्री गर्दै आएका छन् ।
 
७७ मध्ये ६५ जिल्लाका किसानले दुध बिक्री गरेको रकम पाउन सकेका छैनन् । सबैभन्दा धेरै पूर्वी नवलपरासीका किसानको ६० करोड बक्यौता छ । चितवनका किसानको ५५ र काभ्रे किसानको ५० करोड उठ्न बाँकी रहेको जिल्लास्थित दुग्ध उत्पादक सहकारी संघहरूले जनाएका छन् । त्यस्तै, मकवानपुरका निजी उद्योग र डिडिसीले किसानको ४० करोड तिर्न बाँकी छ । दुध उत्पादन हुने सबै जिल्लामा अहिले डिडिसी र निजी क्षेत्रका उद्योग मिलेर किसानको शोषण गरिरहेका छन् ।आजको नयाँ पत्रिकामा खबर छ ।