मुस्ताङको मार्फाखोलामा बाढी आएपछि बेनी-जोमसोम यातायात अवरुद्ध

चैत्र १५,२०८०

-आस्था न्यूज

चैत्र १५, २०८० काठमाडौं ।
मुस्ताङको घरपझोङ गाउँपालिका-३ मार्फामा पर्ने राजखोला (मार्फाखोला) मा बिहीबार दिउँसो अचानक बाढी आउँदा यातायात अवरुद्ध भएको छ । 
 
धौलागिरि दोस्रो र टुक्चेचुली हिमालको बीचमा पर्ने धम्पुसचुली हिमाल फेदमा पर्ने काशीघन क्षेत्रमा रहेको हिउँ दिउँसोको चर्को घामले पग्लदा ठाडो खहरेखोलामा बाढी आएको हो ।
 
स्थानीय जनहित माध्यामिक विद्यालय जोमसोमका शिक्षक सुदीप नेपालीका अनुसार दिउँसो ३.२० बजेदेखि बाढी आएको थियो । ठाडो खहरे खोलामा कालो लेदो माटोसहितको बाढी आएपछि बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध भएको छ ।