मन्त्रीहरूलाई राष्ट्रियसभामा उपस्थित भएर उठेका प्रश्नको जवाफ दिन निर्देशन

चैत्र १६,२०८०

-आस्था न्यूज

चैत १६, २०८० काठमाडौं ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मन्त्रीहरूलाई सभामा उपस्थित भई प्रादेशिक सरोकार समयमा उठेको प्रश्नको जवाफ दिन निर्देशन दिएका छन् ।  
 
शुक्रबारको राष्ट्रियसभा बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै सांसदहरूले विकास निर्माणसँग सम्बन्धित र विभिन्न विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका थिए । लगत्तै अध्यक्ष दाहालले प्रादेशिक सरोकार समयमा उठाएका विषयहरूको सम्बन्धमा सम्बन्धित मन्त्रीलाई सभामा उपस्थित भई जवाफ दिन निर्देशन दिएका हुन् ।
 
निर्देशन दिँदै उनले भने,‘माननीय सदस्यहरूले प्रादेशिक सरोकार समयमा उठाउनुभएका विषयहरूका सम्बन्धमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५(क) को उपनियम ३ को व्यवस्था बमोजिम सम्बन्धित मन्त्रीले सभामा उपस्थित भई जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु ।’
 
त्यस्तै, दाहालले तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० ले दिएका सुझावहरू कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन् । 
 
शुक्रबारको राष्ट्रियसभा बैठकमा अध्यक्ष दाहालले तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० ले दिएका सुझावहरू कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन दिएका हुन् । 
 
बैठकमा सो प्रतिवेदनउपर सांसदहरूले छलफल गर्नुभएको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहालले छलफलमा उठेका विषयहरुका सन्दर्भमा जवाफ समेत दिएका थिए ।