आईपिएलः ञ्जाब किंग्समाथि गुजरातको तीन विकेटको जित

बैशाख १०,२०८१

-आस्था न्यूज

बैशाख १०, २०८१ काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटन्स विजयी भएको छ। पञ्जाब किंग्समाथि गुजरातले तीन विकेटको जित निकालेको हो।
 
यादवविन्द्र सिंह रंगशाला, मुल्लानपुरमा टस जितेर पहिला ब्याटिङ गरेको पञ्जाबले दिएको १४३ रनको लक्ष्य गुजरातले ५ बल बाँकी हुँदा सात विकेट गुमाएर १४६ रन बनाउँदै भेट्टाएको हो।
 
गुजरातको जितका लागि राहुल तेवाटियाले नटआउट सर्वाधिक ३६ रन बनाए। कप्तान शुभमन गिलले ३५ रन जोड्दा साई सुदर्शनले ३१ रन बनाए। ऋद्धिमान साहले १३ रन बनाउँदा एम शाहरुख खान ८ रनमा समेटिए भने डेभिड मिलरले ४ रन जोड्दा राशिद खान तीन रनमा आउट भए। नटआउट रहेका साई किशोरले भने कुनै बलको सामना गर्नु परेन।
 
पञ्जाबका हर्षल पटेलले तीन र लियाम लिभिङस्टोनले दुई विकेट हात पारे। अर्शदीप सिंह र श्याम कुरानले एकएक विकेट लिए।
 
सुरुमा ब्याटिङ गरेको पञ्जाबका लागि प्रभसिमरन सिंहले सर्वाधिक ३५ रन जोडे। हरप्रित बरार २९ रनमा आउट हुँदा कप्तान श्याम कुरानले २० रन जोडे। हरप्रीत सिंह १४, जितेश शर्मा १३, रिली रोसोउ ९, शशांक सिंह ८, लियाम लिभिङस्टोन ६ रनमा समेटिँदा आशुतोष शर्माले ३ रन बनाए। हर्षल पट्टेल शून्यमा आउट हुँदा कासिगो रबडा एक बल खेल्दै नटआउट रहे।
 
पञ्जाबलाई सस्तैमा समेट्न गुजरातका लागि साई किशोरले एक्लै चार विकेट हात पारे। नुर अहमद र मोहित शर्माले दुईदुई विकेट हात पारेको खेलमा रासिद खानले एक विकेट लिए।