बाल मन्दिरको जग्गा बृहस्पति विद्या सदनलाई लिजमा दिने सम्झौता खारेज

बैशाख १४,२०८१

-आस्था न्यूज

वैशाख १४, २०८१ काठमाडौं । 
नेपाल बाल संगठनले बृहस्पति विद्या सदनलाई ८२ वर्षका लागि यसअघि भएको लिज सम्झौता खारेज गरेको छ । 
 
संगठनको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले बाल मन्दिरको २९ रोपनी ४ आना जग्गा बृहस्पतिलाई वि.सं. २१३१ सालसम्म लिज (सस्तो भाडा दर)मा दिने गरी भएको सम्झौता खारेज गरेको हो । 
 
संगठनकी अध्यक्ष विद्या न्यौपानेले लिज सम्झौता सकिन १७ वर्ष अवधि बाँकी छँदै थप ४३ वर्ष बृहस्पतिलाई दिने गरी पहिले भएको सम्झौता खारेज गरिएको बताइन् ।
 
खारेज मिति कहिलेदेखि लागू हुने भन्ने विषय आइतबार बस्ने अर्को बैठकले निर्णय लिने उनले बताइन् । बृहस्पतिले संगठनकी तत्कालीन अध्यक्ष रिता सिंह वैद्यसहितका पदाधिकारी तथा स्वार्थ समूहको मिलेमतोमा २९ रोपनी जग्गा वार्षिक ९० लाख रुपैयाँमा भाडा बुझाउने गरी बिनाप्रतिस्पर्धा हत्याएको थियो ।
 
बृहस्पतिले जग्गा लिजमा पाएपछि एउटै व्यवस्थापनबाट सञ्चालन हुने गरी भारतीय शिक्षा बोर्डअन्तर्गत सञ्चालित राय स्कुललाई भित्र्याएर पाँच रोपनी सव लिजमा लगाएको थियो । त्यसबापत वार्षिक ६० लाख राय स्कुलबाट लिने गरी बृहस्पतिले सम्झौता गरेको थियो । लिखितमा भने त्यो रकम १ लाखमा देखाइएको छ ।