चैत्र ३१,२०७३
-कृपा आधिकारी
कहिलेकाहीँ यी मर्न नसकेका सोचहरु
मेरो मानसपटलमा लुटपुटिँदै बास माग्न आउँछन्।
म कल्पनाको भोगी, सोचको प्रेमी,
अँगाल्छु
किनकि कुनै कोणबाट सोच्दा
मैले नै बोलाको हो यिनलाई।
थरी-थरीका छन्,
पालैपालो बात मार्छन्
लाग्छ कि यो रात नै यिनीहरुका लागि बनाइएको हो
प्राय राती नै आउँछन्।
पहिलो सोच हावामा झुण्डिने कुरा गर्छ
तर अर्को खुल्छ तर्क सहित
“यहाँ त पंखा पनि छैन के को हावा?
हावा त जंगलमा छ नि
जंगलमा कसैलाई चासो हुन्न
ति रुखहरुको भिँडमा तँ मुडोलाई कसैले वास्ता गर्दैन।
आनन्द।”
“आनन्द?
यस्तो सोच जसले किलकिलै दुखाउँछ
आनन्द?
बरु उड तिमी।
हो, सोचै सोचको सगरमाथा या भिर खोज कतै
फालिदेऊ हाम
फेरिदेऊ चोला
अर्को पालि टन्न झोला पारेर आउनु बरु
खालीपन नहुने गरि।”
अर्को सोच अलि डराउँछ
पौडिन आउँदैन त्यसैले पानीमा डुब्छ
शान्त पोखरी, स्वच्छ पानी,
माथी बाहिर ठूलो बाज सर्रर उडेको
स्वाँ साँस तान्छ सोच
हावा भन्दा आनन्द छ पानी – ‘आहा’
कहिले बिजी सडक बिचमा रुक्छ
रफ्तारबिच
भन्छ-
“उँचाइ
गहिरो खाई
नजरै जम्छ
खुट्टै काम्छ
बरु नियतिकै खेल जस्तै देखियोस्
असामायिक भेल जस्तै देखियोस्”
तर, सोच आज्ञा बन्न पाएको छैन
बन्दैन- म भन्न सक्दिन।
- kritikokriti.wordpress.com
प्रमुख समाचार