महिनावारीसम्बन्धी भ्रमलाई तत्काल हटाउनुपर्नेमा जोड

आश्विन ०९,२०७६

-

असोज ९,२०७६ काठमाडौं ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिनावारीसम्बन्धी रहेका भ्रमहरुलाई तत्काल हटाउनुपर्ने बताउनुभएको छ । 
 
नेपाली समाजमा महिनावारी अझै चुनौतीका रुपमा रहेको भन्दै स्कुल, कलेज र काम गर्ने ठाउँमा जनचेतना जगाउनुपर्नेमा जोड दिनुभयो । मर्यादित र स्वच्छ महिनावारीका बारेमा खुलेर कुरा गरौँ’ भन्ने नाराका साथ एक्सपोज नेपालले बिहीबार मनाएको १२ औँ वार्षिकोत्सवको अवसरमा मन्त्री थापाले यस्तो बताउनुभएको हो । 
 
संघीय सरकारले स्कुलमा प्याड पुर्‍याउने नीति ल्याएको र अब पालिकासँग समन्वय गरेर यो नीति हरेक समुदायमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो। त्यस्तै मन्त्री थापाले एक्सपोज नेपालले गरेको काम सह्रानीय भएको र सरकारसँग बजेटका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो  ।  
 
संस्थाका अध्यक्ष ज्ञान महर्जनले माहिनामा झण्डै २५ सयका दरले प्याड बिक्री भैरहेको बताउनुभयो । कार्यक्रममार्फत नेपालका पहिलो प्याडम्यान भनेर चिनिनुभएका महर्जनले देशभरका १७ सय महिलालाई नयाँ प्याडबारे तालिम दिइसकेको बताउनुभयो । 
 
उहाँको अगुवाइमा ललितपुरको गाबहाल मा सन् २००७ मा स्थापना भएको एक्स–पोज नेपालले महिनावारीसम्बन्धी संकुचता हटाउन तथा घरेलु स्यानेटरी प्याड निर्माण र प्रयोगलाई प्रबर्द्धन गर्दै आइरहेको छ । 
 
एकल तथा आर्थिक स्थिति कमजोर भएका महिलालाई संस्थाले निःशुल्क तालिम दिँदै आइरहेको छ । पुनः प्रयोग गर्न सकिने घरेलु प्याड, रेडिमेड स्यानेटरी प्याडभन्दा स्वस्थकर र खर्चका हिसाबले राम्रो मानिएको छ । न्यूनतम १५० देखि २०० सम्म पर्ने प्याड दुई वर्षसम्म प्रयोग गर्न सकिने भएकाले खर्च पनि कम लाग्ने आयोजकले बताएको छ ।  
 
सन् २०२० भित्रमा काठमाण्डौ, पोखरा र विराटनगरका ७५ वटा पसलहरुमार्फत प्याड बिक्री गर्ने तयारी भैरहेको संस्थाले जनाएको छ । 
 
यस्तै कार्यक्रममा बोल्ने क्रममा प्रदेश नम्बर ३ का सांसद जीवन खड्काले विद्यालयमा छात्राहरुलाई महिनावारीसम्बन्धी सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्ने बताउनुभयो ।