सडक निर्माणका विषयमा बैतडीमा विवाद, डोजरले नै आक्रमण गर्दा ८ जना घाइते !

कार्तिक ०५,२०७६

-

कार्तिक ५,२०७६ काठमाडौं ।
सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।    
    
दशरथचन्द नगरपालिका-९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा विवाद भएपछि डोजर चालकले डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका हुन्।
 
घाइतेमध्ये गौरा अचेत छिन्। गौरालाई चालकले डोजरको बकेटले आक्रमण गरेको भिडियोमा देखिन्छ। गम्भीर घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।
    
प्रहरीका अनुसार घटनामा अन्य ८ जना घाइते भएका छन्। स्थानीयवासी सुरेन्द्रप्रसाद जोशी, नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घाइते भएका छन्।    
    
सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माणका विषयमा दुई पक्षबीच कुराकानी नमिल्दा झडप भएको थियो। सडक लैजान नदिने र सडक लैजानुपर्छ भन्ने पक्षबीच विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ।
 
आफूहरुले सडक निर्माणका लागि सहमति गर्न खोजेपछि निर्माण पक्षले जबर्जस्ती आफूहरुको जमीनमा डोजर चलाएको स्थानीय हंसराज जोशीले जानकारी दिए।
 
सडक निर्माण हुने ठाउँमा देवताको गुठीको जमीन पर्ने र यो विषयमा सबै गाउँलेसँग सहमति गरेर अघि बढ्ने भने पनि निर्माण पक्षले जबर्जस्ती गरेको उनले बताए।
    
सुण्न्नाखानदेखि पार्ससम्म जोड्ने सडकका विषयमा पहिलादेखि विवाद रहेको र आज आफूहरुको जमीनमा डोजर चलाउँदा झडपको स्थिति आएको स्थानीय दुर्गादत्त जोशीले जानकारी दिए। नागरिक