गरिबी निवारण गर्ने उद्देश्यले खुलेका लघुवित्त कम्पनीहरूले गरिबलाई नै शोषण गरेको खुलासा

फाल्गुण ०८,२०७६

-

फागुन ८,२०७६ काठमाडौं ।
 
गरिबी निवारण गर्ने उद्देश्यले खुलेका लघुवित्त कम्पनीहरूले गरिबलाई शोषण गरी अकुत नाफा कमाउने गरेको पाईएको छ ।
 
गत आर्थिक वर्ष ०७५र७६ मा सेयर बजारमा सूचीकृत ४९ वटा लघुवित्त संस्थाले नाफा औसतमा आठ गुणा ९सात सय प्रतिशत०ले बढाएका छन् । यति धेरै नाफा वृद्धि अन्य कुनै पनि व्यापारिक क्षेत्रमा सम्भव हुँदैन, जब कि लघुवित्त त गरिब जनताको सेवा गर्ने उद्देश्यले खोलिएका हुन् ।
 
यीमध्ये कतिपय भर्खरै सञ्चालनमा आएका नयाँ संस्थाको नाफा त १५ हजार प्रतिशतसम्मले बढेको देखिन्छ । स्पर्श, स्वाभिमान, नयाँ नेपालजस्ता लघुवित्तको नाफा एकै वर्षमा हजारौँ गुणाको वृद्धि भएको छ । 
 
१४ करोड चुक्तापुँजी भएको जीवन विकास लघुवित्त वित्तीय संस्थाले ६ महिनामै आफ्नो पुँजीभन्दा करिब दोब्बर नाफा गर्‍यो । यो लघुवित्तले प्रकाशित गरेको वित्तीय विवरणअनुसार पहिलो ६ महिनामा कम्पनीले २२ करोड ५९ लाख रुपैयाँ नाफा गरेको छ । ६ महिना अवधिमै चुक्तापुँजीको तुलनामा एक सय ६१ प्रतिशत नाफा आर्जन गर्दा उसले एक वर्षमा त साढे ४३ करोड नाफा पुर्‍याउने देखिन्छ ।
 
यो संस्थाले गरिबको शोषण कुन तहमा गरेको होला भनेर अनुमान लगाउन सकिन्छ । जीवन विकासले वाणिज्य बैंकहरूबाट लिएको सापटी र निक्षेपसमेत गरी कुल आठ अर्ब ३४ करोड रुपैयाँ विपन्नलाई ऋण दिएर त्यति नाफा कमाएको हो ।
 
लघुवित्त कम्पनी खोलेर गरिबको शोषण गरी उच्च नाफा आर्जन गर्दै लाभांश खाने प्रयोजनले लगानीकर्ताले लघुवित्तमा लगानी गरेको देखिन्छ । लघुवित्त संस्थाले एकै वर्षमा ८० प्रतिशतसम्म प्रतिफल दिएर लगानीकर्ताको भने राम्रै सेवा गर्ने गरेका छन् । हालसम्म लाभांश घोषणा गरेका संस्थाले यस वर्ष लगानीकर्तालाई अधिकतम ८० प्रतिशतसम्म लाभांश दिएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।