हवाई सेवा सञ्चालन गर्न एयरलाइन्स कम्पनीसँग कम्तीमा तीनवटा जहाज अनिवार्य हुनुपर्ने

फाल्गुण ०८,२०७६

-

फागुन ८,२०७६ काठमाडौं ।
नेपालमा हवाई सेवा सञ्चालन गर्न एयरलाइन्स कम्पनीसँग कम्तीमा तीनवटा जहाज अनिवार्य हुनुपर्ने प्रस्ताव गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार सार्वजनिक गरेको हवाई नीतिको मस्यौदामा उक्त व्यवस्था प्रस्ताव गरिएको छ ।
 
नागरिक उड्डयन प्राधिकरणको मौज्दात इजाजतसम्बन्धी कार्यविधिले एउटा जहाज ल्याएर एयरलाइनस स्थापना गर्न छुट दिएको छ । एउटामात्रै जहाज ल्याएर कम्पनीको सेवा सुरक्षित, नियमित र किफायती नहुने भएकाले यस्तो प्रावधान ल्याएको प्रस्तावित हवाई नीति मस्यौदाका संयोजक पूर्व सचिव यज्ञप्रसाद गौतमले बताए । 
 
उनको नेतृत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको हवाई नीति मस्यौदा समितिले बुधबार मन्त्री योगेश भट्टराईलाई यसबारे प्रस्तावित नीतिपत्र बुझाएको छ । 
 
नीतिमा अन्तर्राष्ट्रिय तथा आन्तरिक वायुसेवा संस्था सञ्चालन गर्न तीनवाट जहाज सधैँ सञ्चालनमा रहेको हुनुपर्ने उल्लेख छ । यो नीतिले तीनवटाभन्दा कम हेलिकप्टर सञ्चालन गरिरहेका कम्पनीलाई मर्जरका लागि बाटो खुला गरेको छ । 
 
त्यस्तै, अबको दिन कुनै पनि व्यापारी वा निजी कम्पनीले पुँजी भएकै भरमा आन्तरिक एयरलाइन्स स्थापना गर्न सजिलै नपाउने भएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।