उपत्यकाभित्र बस्ने विदेशी नागरिकलाई लक्षित गरेर विवरण संकलन सुरु

फाल्गुण ०८,२०७६

-

फागुन ८,२०७६ काठमाडौं ।
 
प्रहरीले काठमाडौं उपत्यकाभित्र बसोवास गर्ने नागरिकको गोप्य ढंगले विवरण संकलन सुरु गरेको छ । विशेषगरी विदेशी नागरिकलाई लक्षित गरेर विवरण संकलन गरिएको हो ।
 
उपत्यकाभित्र बसोवास गर्ने विदेशी नागरिक शंकास्पद गतिविधिमा संलग्न पाइएपछि प्रहरी उनीहरूको विवरण संकलनमा लागेको हो । यसका लागि प्रहरीले मातहतका सबै युनिटलाई निर्देशन दिइसकेको छ । 
 
विदेशी नागरिकको बसोवास रहेको क्षेत्रका युनिटलाई बढी सक्रिय पारिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले नागरिकको विवरण संकलन कार्य भइरहेको बताए । 
 
नागरिकको विवरण संकलनको काम प्रहरीले यसअघि नै थालेको हो । अहिले विशेषगरी विदेशी नागरिकको विवरण संकलन कार्यलाई तीव्रता दिइएको हो । यो काम मातहतका प्रत्येक युनिटले गरिरहेका छन्, सबैलाई निर्देशन गइसकेको छ,’उनले भने ।
 
लाजिम्पाट, ठमेल, झम्सिखेल, महाराजगन्ज, रानीबारी, बालुवाटार, दरबारमार्ग, केशरमहल, बौद्ध, टुसाललगायत क्षेत्रमा विदेशी नागरिकको बसोवास बढी छ । प्रहरीका अनुसार यी क्षेत्रमा उनीहरूको गतिविधिमा पनि निगरानी राखिएको छ । 
 
स्वदेशी हुन् या विदेशी, उनीहरूका गतिविधिमाथि प्रहरीको निगरानी हुनु स्वाभाविक हो । केही ‘कोर’क्षेत्रमा भने प्रहरीको निगरानी अलि बढेको हो, यो प्रहरीको नियमित गतिविधिभित्र पर्छ,’ परिसर प्रमुख सुवेदीले भने ।
नयाँ पत्रिका दैनिकमा खबर छ ।