त्रिविका चार केन्द्रीय विभागलाई कोरोना भाइरसबारे अनुसन्धान गर्न निर्देशन

चैत्र २६,२०७६

-

चैत २६,२०७६ काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयका चार केन्द्रीय विभागले नेपालमा देखिएको कोरोना भाइरस (कोभिड-१९)को अनुसन्धान गर्ने भएका छन् । त्रिविको माइक्रोबायोलोजी, बायोटक, बायोमेटरियल र फिजिक्स केन्द्रीय विभागले कोरोना भाइरसको अनुसन्धान गर्न लागेका हुन् ।
 
त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले नेपालमा देखिएको कोरोना भाइरसको अध्ययन गर्न चार केन्द्रीय विभागलाई निर्देशन दिइसकेको बताए । नेपालमा देखिएको कोरोना कतिको शक्तिशाली छ, यसका कमजोरी के हो, यसलाई कसरी परास्त गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न निर्देशन दिएको उनले बताए । 
 
केन्द्रीय विभागहरूलाई अनुसन्धानका लागि प्रस्तावना मागेको बाँस्कोटाले बताए । उनले भने, ‘अनुसन्धानका लागि स्रोत हामी (केन्द्र) दिन्छौँ, अहिले तीनवटा प्रदेशमा देखिएको छ, भोलि सबैतिर फैलिएमा सातै प्रदेशमा अनुसन्धान गर्ने गरी प्रस्तावना मागेको छु ।’ अहिलेसम्म तीनवटा प्रदेशमा कोरोना भाइरसका नौजनामा संक्रमण देखिएको छ ।
 
त्रिविले अहिले सबै केसलाई अनुसन्धान गर्ने र संक्रमण फैलिएमा सबै प्रदेशलाई समेट्ने गरी नमुना छनोट गरी अनुसन्धान गर्न निर्देशन दिएको बाँस्कोटाले बताए । उनले कोरोनाको नालीबेली पत्ता लगाउने गरी अनुसन्धान हुने बताए । नेपालको कोरोना र अन्य देशको कोरोना भाइरसबीच तुलनात्मक अध्ययन हुने उनले बताए ।
 
नेपालका छिमेकी भारत, चीन तथा पश्चिमा देशमा देखिएका कोरोना भाइरससँग तुलना गरी अध्ययन गर्ने त्रिविको योजना छ । अहिले सानो नमुना छनोट गरी पछि विस्तार गर्ने त्रिविका पदाधिकारीको भनाइ छ । आवश्यक सामग्री जुटाएर तत्काल अनुसन्धान सुरु गर्ने उनले बताए । अनुसन्धानका लागि कति जनशक्ति खटिने, कहिलेसम्म अनुसन्धान गर्नेलगायत तयारी केन्द्रीय विभागहरूले गरिरहेका छन् ।