कोरोनाविरुद्धको भ्याक्सिन तयार भैसकेको राष्ट्रपति ट्रम्पको दाबी

जेठ २४,२०७७

-

जेष्ठ २४,२०७७ वासिङ्टन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध २० लाख भ्याक्सिन निर्माण भएको दाबी गरेका छन् । शुक्रबार राति आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले २० लाख भ्याक्सिन प्रयोगका लागि नै तयार भइसकेको दाबी गरेका हुन् ।
 
‘कोरोनाविरुद्धको खोपका बारेमा हामी हिजो बैठक बसेका थियौं । हामीले उल्लेखनीय काम गरेका छौं । खोप निर्माणमाा हामीले उल्लेखनीय सफलता हात पारेका छौं,’ ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
 
राष्ट्रपति ट्रम्पले भ्याक्सिन तयार भइसकेको दाबी गरे पनि यसको प्रयोग सुरक्षित छ छैन भन्नेबारेमा वैज्ञानिकहरुबाट भने प्रमाणित हुन बाँकी रहेको बताए । ट्रम्पले कुन कम्पनीले भ्याक्सिन तयार गरेको हो भन्ने कुराचाहिँ खुलाएनन् । न्युयोर्क टाइम्सका अनुसार ट्रम्प प्रशासनले कोरोनाविरुद्धको भ्याक्सिन निर्माणका लागि ५ वटा कम्पनी छनोट गरेको छ । राष्ट्रपति ट्रम्पले कम्तीमा ८ वटा कम्पनी भ्याक्सिन निर्माणको दौडमा अगाडि रहेको बताएका छन् ।
 
साथै थेराप्युटिक पद्धतिमा पनि अमेरिकी वैज्ञानिकहरुले सफलता हात पारेको उनले दाबी गरेका छन् । ट्रम्पले खोपको प्रयोग कहिलेबाट सुरु हुन्छ भन्नेचाहिँ केही खुलाएका छैनन् ।
 
राष्ट्रपति ट्रम्पको भनाइपछि अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फौचीले यसबारेमा आफूले टिप्पणी गर्न नसक्ने बताए । उनले राष्ट्रपति ट्रम्पको भनाइबारे आफू अनभिज्ञ रहेको बताए । तर गत मंगलबार आयोजित एक मेडिकल सेमिनारमा भने डाक्टर फौचीले अर्को वर्षसम्म कोरोनाविरुद्धको खोप निर्माण हुनेमा आफू आशावादी रहेको बताएका थिए ।