बैठकमा जान नभ्याउने प्रधानमन्त्री ओली अनशनरत युवालाई भेट्न पुगे अस्पताल

आषाढ १८,२०७७

-

असार १८, २०७७ काठमाडौं ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध अनशनरत अस्पताल भर्ना गरिएका इसान अधिकारी र पुकार बमलाई भेटेका छन् ।
 
नेकपाको स्थाई कमिटि बैठकमा उपस्थित हुन नसकिरहेका बेला प्रधानमन्त्री ओली भने पत्नी राधिका शाक्यलाई लिएर एक्कासी अनशनरत युवाहरुलाई भेट्न पुगेका हुन् ।
 
बिहीबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगेर ओलीले उनीहरुको स्वास्थ्य अवस्था बुझेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
 
सरकारले कोभिड १९ विरुद्धको प्रतिकार्य प्रभावकारी ढंगले चलाउन नसकेको, पीसीआर परीक्षण बढाउनु पर्ने लगायत माग राखी अधिकारी, बम लगायत ललितपुरको पाटन दरबार स्क्‍वायरमा एक सातादेखि अनशनमा बसेका थिए ।
 
प्रधानमन्त्रीले आफू भेट गर्न आएको भन्दै माग पूरा गर्ने बताएको ओलीको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार थापाले बताए । उनले युवालाई अनशन तोड्न पनि आग्रह गरेका थिए ।
 
जवाफमा अनशनरत युवाले आफूहरुका केही माग रहेको भन्दै छलफलका लागि कुनै माध्यम बनाइदिन प्रधानमन्त्री ओलीसँग आग्रह गरेका थिए ।