विवाद मिलाउने प्रयास स्वरुप भएको नेकपा अध्यक्षद्धयको बालुवाटार वार्ता सकारात्मक

आषाढ १९,२०७७

-

असार १९,२०७७ काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद मिलाउने प्रयास स्वरुप भएको वार्ता सकारात्मक दिशामा अघि बढेको छ । 
 
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अधयक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुबीचको बैठकमा एकताको मर्मअनुरुप अघि बढ्ने समझदारी बनेको छ ।
 
बैठकमा सहभागी नेताहरुका अनुसार बैठक सकारात्मक दिशामा अघि बढेको छ भने थप छलफल गरेर दुबै पक्षलाई मिलाएर अघि बढ्ने आधार तयार भएको छ । 
 
बैठकमा सहभागी स्थायी समिति सदस्य जनार्दन शर्माका अनुसार आजको छलफल सौहार्दपूर्ण रुपले सकिएको र फेरि अर्को चरण बसेर सबै विषयमा कुराकानी गर्ने सहमति भएको छ ।
 
 पछिल्लो समय पार्टीभित्र बढ्दै गएको असन्तुष्टिका कारण पार्टी नै फुटको संघारमा पुुगेको भन्दै नेताहरुबाट गम्भीर चिन्ता र चासो प्रकट भएपछि पार्टी एकतालाई जोगाउन ओली र प्रचण्डबीच छलफल भएको हो ।
 
छलफलमा ओली प्रचण्ड बाहेक महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी थिए । 
 
गत वैशाखमा सरकारले दुई अध्यादेश ल्याएपछि नेकपामा बढेको विवाद साम्य नहुँदै गत आइतबार प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र सोहीबीचमा संसद अधिवेशन समेत अन्य गरेपछि विवाद थप उचाइमा पुगेको छ । पार्टीभित्रको विवादकै कारण स्थायी समिति बैठक शनिबारसम्म स्थगित भएको छ ।