राष्ट्रपतिलाई भेटेर फर्किएलगत्तै प्रधानमन्त्री ओली डिनरसँगै मन्त्रीहरूसँग छलफलमा ब्यस्त

आषाढ २०,२०७७

-

असार २०, २०७७ काठमाडौं ।
 
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शनिबार साँझ शीतल निवास पुगेका थिए । त्यहाँबाट फकिएलगत्तै प्रधानमन्त्री ओली मन्त्री र राज्यमन्त्रीहरूसँग छलफलमा जुटेका छन् । 
 
 
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब एक घन्टा छलफल भएको थियो । स्रोतका अनुसार राष्ट्रपतिसँगको छलफल सकिएलगत्तै बालुवाटारमा प्रधानमन्त्री ओली अहिले मन्त्री र राज्यमन्त्रीहरूसँग छलफलमा जुटेका हुन् ।
 
प्रधानमन्त्रीले समसामयिक विषयमा मन्त्री र राज्यमन्त्रीहरूसँग छलफल गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तारुढ नेकपाले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा गर्न भनेर स्थायी कमिटी बैठकमा दबाब बढाएको छ । स्थायी कमिटीको दबाबका बीच प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । जसअनुसार नै संसद अधिवेशन गत बिहीबार अन्त्य भएको छ ।