अहंकार व्यवस्थापन

भाद्र २२,२०७७

Yagya Bhattarai

-यज्ञ भट्टराई

भदौं २२, २०७७ काठमाडौं ।
  • यज्ञ भट्टराई-
 
मानव जातीको इतिहासमा धेरैपटक युद्ध एवं द्धन्द भएका छन । पहिलो विश्वयुद्ध भयो, केही वर्षपछि पून दोस्रो विश्वयुद्ध भयो । त्यसैगरी अमेरिका-भियतना युद्ध, भारत -चीन बीच  युद्ध , भारत-पाकिस्तान बीच युद्ध भयो साथै यसप्रकारका युद्धहरु धेरै भईसके र आजसम्म पनि मार्नेमर्ने क्रम चलिरहेको छ । आज पनि विश्वमा एक अर्को देश बीच द्धन्द चलिरहेको छ । राष्ट्रिय स्तरमा नै युद्ध, झगडा, कलह छ । प्रत्येक समाज एवं समुदायमा झगडा छ, एकले अर्कोलाई सताएको छ। मानवको घरघरमा झगडा छ, परिवार-परिवारमा द्धन्द्ध छ, व्यक्ति -व्यक्ति बीच लडाई झगडा छ, स्वयम व्यक्ति आफैमासमेत बेचैनी छ ।
 
 
समाजमा हत्या, हिंसा, वलात्कार, चोरी डकैतीजस्ता निकृष्ट अपराधहरु दिनदिनै बढदो रुपमा छ। समाजमा असमानता बढको छ, न्याय हराउन पुगेको छ। हुनेले नहुनेलाई हेप्ने ,शोषण गर्ने, दमन गर्ने तथा  धन, पद, प्रतिष्ठाको रवाफ देखाउनेक्रम बढदो छ ।पद, पैसा, शक्ति आर्जनलाई नै सफलता मान्ने बर्गको जमात बढदो छ । प्रेम, करुणा, दया, समन्याय, समभाव, समान व्यवहार जस्ता शब्दको भाव हराएको छ। 
 
मानव जातिको उद्धेश्य नै युद्ध, झगडा, कलह, हिंसा वा अपराधिक कार्य गर्नु नै हो की जस्तो देखिएको छ । यस्तो किन हुन्छ भन्दा जब व्यक्तिमा अहंकार बढदै जान्छ तब अनेक विकृति एवं समस्याहरु देखा पर्न थाल्छ।  धार्मिक मान्यताअनुसार पनि त्रेतायुगमा भएको रामायण युद्ध रावणको अहंकारले गर्दा भयो ।त्यसैगरी द्धापरयुगमा भएको महाभारत युद्ध पनि दूर्योधनको अहंकारको कारण हुन पुगेको थियो । 
 
हामी मनुष्य जागरुक, प्रेमपूर्ण, करुणावान र उदारह्दयपूर्ण हुनुपर्ने थियो तर त्यसको विपरित हामी भित्र इर्श्या, द्धेष, क्रोध, हिंसा, घृणा, वैमनस्यता ,अस्वस्थ्य प्रतिस्पर्धाको भावना, दोश्रोसित तुलना जस्ता नकारात्मक भाव मात्र उव्जन पुगेको छ। यस्ता कर्मले गर्दा मानव नाम मात्रको मानव जस्तो भएको छ, देखावटीरुपमा मात्र सभ्य र सुसंकृत देखिएको छ तर मानवभित्र जंगली पशुवत व्यवहार सुरक्षित रहेको पाईन्छ । गौतम वुद्ध भन्नुहुन्छ मनुष्यको जन्म पाउन दुर्लभ छ , फेरी मनुष्य जीवित रहनु दुर्लभ छ, वुद्धहरुको उत्पन्न हुनु अझ दुर्लभ छ । 
 
धेरै मानिसहरुले मनुष्यको जन्म त पाएका छन तर अनुहारबाट मात्र मनुष्य छन, खासमा मनुष्य छैनन, पाशविक आकांक्षाहरु भरिएका छन । थोरै मनुष्यको रस आयो भनेपनि उनीहरुमा ठूलो अहंकार आउंछ, आफुलाई अर्को सम्झन्छन, कोही ज्ञानी सम्झन्छन, कोही त्यागी भन्छन, कोही भन्छन मैले यती गरे, यो गरे सवलाई अहंकारले समात्छ।
 
 
अहंकार (Ego) भनेको अहम हो । मै हुं भन्ने भाव, घमण्ड र अभिमान नै अहंकार हो । आफुलाई सर्वैसर्वा सम्झने क्रिया, भाव, गुण र मपाईत्व भावनालाई अहंकार भनिन्छ । अहंकार भनेको आफु अरु भन्दा श्रेष्ठ हु भन्ने गर्वको भाव हो । भ्नय ले आफ्नो मात्र मानसम्मान, सुखसुविधा र प्रगतिमा आफुलाई केन्द्रीत राख्छ । प्रत्येक व्यक्तिमा चरित्र, धन तथा भोग , शक्ति, पद, ज्ञान तथा वुद्धि , यशसमेतका केन्द्रीत अहंकारहरु हुन्छन । 
 
 
अहंकारको रस लंडाई, झगडा , द्धन्द क्रोध, काम, लोभ, मोह, द्धैष, इर्श्या र वासना गर्नमा हुन्छ। व्यक्तिभित्र जवतक अहंकारको तृप्ति रहन्छ तवतक दोश्रोको खण्डन गर्नै पर्छ , अहंकारको बाटो आफूलाई ठूलो र अर्कोलाई सानो देख्‍ने हो । मनोविज्ञान अनुसार अहंकार चौध प्रकारका हुन्छन र ति अहंकाररुपी भूतलाई सातजोडीमा बाँडन सकिन्छ । प्रत्येक व्यक्तिमा कुनै न कुनै एक प्रकारको भूत हावी भएको हुन्छ । 
 
 
जस्तै म सही छु-तिमी गलत छौं, म अमिर हु, तिमी वेइमान हौ, म शक्तिशाली छु- तिमी हावी नहोउ, म सबै जान्ने छु-तिमी केही जान्दैनौ, म सल्लाह दिन्छु-तिमीले सल्लाह दिनु पर्दैन, म महान छुं-तिमी घटिया छौं जस्ता अहंकारका भूतहरु हुन्छन । ती अहंकाररुपी भूत जब व्यक्तिउपर हावी हुन्छन तव व्यक्तिको वुद्धि, विवेक, चेतना मर्न जान्छ र व्यक्तिले वेहोसी एवं नसाको तालमा कार्य गर्छ साथै पछि होसमा आउंदा पश्चाताप गर्नुपर्ने अवस्था हुन्छ।
 
 
जसरी महाभारतको युद्धमा अर्जुनले हानेको बाणको तीर र गुरु दोर्णले हानेको बाणको तीर दुवैतर्फबाट आउदा टकराव भएर ज्वाला बनेको हुन्छ त्यसरी नै एकातर्फ एकजनाको अहंकाररुपी भूत म सही छु भन्यो भने अर्को तर्फ उल्टा तिमी वेठिक छौ भन्ने अर्काको भूत आउंछ तब दुबै बीच कलह, झगडा, युद्ध शुरु हुन्छ ।
 
 
परिग्रह चित्त भएका व्यक्तिहरु जस्तै, अस्वस्थ्य प्रतिस्पर्धा गर्ने तथा कालावजारी गर्ने व्यपारी, भ्रष्ट पदाधिकारी र विचौलियाहरु समेतका व्यक्तिहरुमा जसरी पनि कमाउनु पर्छ र अमीर भई धनमार्फत शक्ति आर्जन गर्नुपर्छ भन्ने भूत हावी हुन्छ अर्कोतर्फ राजनीतिक दलहरु र तिनका भातृसंगठनहरु पत्रकारहरु र यस्तै अन्य व्यक्तिहरुमा  तिमीहरु वेईमान हौ  भन्ने भूत हावी हुन्छ जसले गर्दा चन्दा माग्ने, वार्गेनिङ्ग गर्ने जस्ता कार्य हुन्छन । 
 
 
त्यसैगरी नेतृत्वकर्ता एवं मालिकमा अरुलाई डोमिनेशन गर्ने , होच्याउने र अरुमाथि शासन गर्ने भूत हावी हुन्छ भने अर्कोतर्फ सहयोगीहरुमा डोमिनेट हुन तयार नहुने, होच्चिन नखोज्ने एवं शासित हुन नचाहने भूत हुन्छ तव त्यांहा द्धन्द एवं झगडा शुरु हुन्छ ।
 
 
अहंकार र मनको सम्बन्धः 
गौतम वुद्ध भन्नुहुन्छ जवतक मन हुन्छ तवतक रोग हुन्छ । शरीर, मन र अहंकारको जीवन जीवन होइन, यी तीनबाट मुक्त भएपछि शून्यको र शान्तिको जीवनमा प्रवेश गरी निर्वाण प्राप्त हुन्छ। अहंकार मनको इन्धन हो, मन समस्या हो, अशान्ति हो । मनबाट अहंकार जन्मछ, अहंकार मनको पहिलो सन्तान हो । अहंकारले आफुपछि क्रोध, काम, लोभ, मोह, द्धैष, इर्श्या बोकेको हुन्छ । मनले चल्नेवाला व्यक्ति अहंकारी हुन्छ, मन सधै वासना र अहंकारको साथ चल्छ । 
 
अहंकारी व्यक्ति मनलाई मालिक बनाउंछ, मनको मालिक हुन सक्दैन तर निर्दोष र सरल व्यक्ति मनको मालिक हुन्छ । जव मन मालिक बन्दैन तब निर्दोषता, सरलता पैदा हुन्छ, दम्भ ,लोभ र क्रोध मेटिन्छ एवं शान्ति र आनन्द मिल्छ।
 
 
यस जगतमा मानिसमा दुई प्रकारका भ्रम छन एक पदार्थको र अर्को म (इगो, अहंकार)को भ्रम । अहंकारले चौविसै घण्टा म, मेरो, मलाई भन्छ निद्रामा समेत म सम्झन्छ । अहंकारी व्यक्ति निदाउन सक्दैन । जुन मानिसको म, मेरो, मलाई, मैले धेरै मजबुत हुन्छ त्यसको अरुसंग संयुक्त हुन सक्ने संभावना कम हुन्छ किनकी म पर्खाल हो । जवसम्म म रहन्छ तवसम्म अर्को भन्ने भाव नष्ट हुंदैन । 
 
 
अहंकार एउटा प्रयोजन हो, जसले धन , शक्ति र पद माग्छ । अहंकार पाएर पनि दुखी हुन्छ । भनिन्छ मानिसको घर जति ठूलो हुंदै जान्छ मन त्यति सानो हुँदै जान्छ । अहंकारले त्यही माग्छ जहाँ केही पाउने आशा हुन्छ । अहंकार त्याहा जादैन, जहां उसले केही पनि पाउदैन । हामी मलाई केन्द्रमा राखेर जीवन चलाई राखेका छौ । हाम्रो दृष्टि अहम केन्द्रित छ तसर्थ हामीलाई अहंकारको पर्दाले घरेको छ। भनिन्छ अहंकारभन्दा ठूलो अरु पाप छैन बांकी सारा पाप अहंकारबाटै उत्पन्न हुन्छन । 
 
 
अहंकारका दूर्गुणहरुः
सन्त कविर भन्नुहुन्छूअहंकार ,क्रोध र कल्पनाबाट संसारका मानिसले धेरै धोका खान्छन, जहां अहंकार हुन्छ त्यंहा अनेक विपत्तीहरु आई लाग्छन, ज्ञानलाई अहंकारले नष्ट गर्छ । काम, क्रोध, मोह, अभिमान, अहंकार जस्ता दुर्गणहरु जवसम्म ह्दयमा निवास रहन्छन तवसम्म पण्डित र मूर्ख दुवै एक समान हुन्छू। दोश्रोको नजरमा अहंकारी व्यक्तिमा देहायवमोजिमका दूर्गुणहरु रहेका देखिन्छन जस्तै, धोकेबाज, निंदक, वेइमान, लोभी, शोषक, भोगी, स्वार्थी, इर्श्यालु, कंजुश, चोर, डांकु, तानाशाह, गुण्डा, नेतागिरी , दादागिरी, चम्चा ९चाकडी० द्धेषयुक्त, आतंकवादी, मोहग्रस्त, सन्की, दम्भी, कठोरदील, निर्मोही, मूर्ख, बकबासी, रुढीवादी, कटाक्षी, जिद्धी, अवज्ञाकारी, धुर्त, पाखण्डी, चलाख, यशाकांक्षी, निकृष्ट, पापी, तुच्छ, दुस्साहसी जस्ता दुर्गुणहरु रहेका हुन्छन ।
 
 
 
अहंकारी व्यक्तिमा भय हुन्छ  ब भय हुन्छ तब उ आक्रमक र हिंसक बन्न पुग्छ  तर उ  अरुलाई निर्भय भएको देखाउन खोज्छ । भनिन्छ यस संसारमा भयभित मानिस पदको खोजी गर्छन किनकी पदले सुरक्षा दिन्छ, निर्भयता दिन्छ । हिटलरलाई हामीले शक्तिशाली सम्झन्छौ तर उ यती भयवित थिए की भयले गर्दा विवाहसमेत गरेनन, उनले आफ्नो कांधमा हातराख्‍न कसैलाई दिदैनथिए, विवाह गर्दा श्रीमतीले कांधमा हात राख्न सक्छिन भनी जीवनभर विवाह नै गरेनन । मर्नुभन्दा २ घण्टा अगाडी मात्र विवाह गरे। 
 
 
यस दुनियामा जुन ठूला मानिसहरु भनिएका छन, उनीहरुभित्र ठूलो भय रहेको हुन्छ तर भय छैन भन्ने देखाउन चाहन्छन । उनीहरु ठूलो पदको खोजमा,  धेरै धनको लोभमा, यशको खोजमा लागिरहेका हुन्छन।उनिहरु सुरक्षित रहन चाहन्छन की भोली रोग,गरिबी,मृत्यु जेसुकै आओस कुनै डर छैन। भित्रको भयको कारण सुरक्षाको सवै उपाय अपनाउछन ।
 
 
धनवान, पदवान मानिसहरु जति अहंकारी देखिन्छन त्यति अहंकारी सामान्य मानिस देखिदैन र हुदैन । धन र पद भएका मानिसहरुमा क्रोध र अहंकार बढी हुन्छ । उनीहरुमा यती अहंकार हुन्छ की दुईजना जव एक अर्कासंग भेट भए भने पनि पहिला कसले कसलाई नमस्कार गर्ने भन्ने अहंम हुन्छ । अहंकारले सर्मपणमा वाधा दिन्छ । कोही पनि अहंकारले मुक्त नभई सर्मपण गर्न सक्दैन।  मेरोपन अर्थात ममत्वको भाव नै हिंसा भएकोले समग्र हिंसा आफ्नो र पराईको विचमा तानिएको सीमा रेखाबाट हुन्छ । कुनै पनि म, मेरोको भावना नै मोहको निस्सा हो ।
 
 
क्रोधबाट मोह उत्पन्न हुन्छ, मोहबाट स्मरण शक्ति भ्रमित हुन्छ, स्मरणशक्ति भ्रमित हुनाले मानिस पछारिन्छ । अहंकारी व्यक्तिको भाव, विचार, बाणी र उसले गर्ने कार्यमा असंगति हुन्छ । जव मानिस अहंकारले भरिन्छ तब उसले प्रकृतिसंग समेत शत्रुता राख्छ ।
 
 
अहंकारबाट मुक्त हुने उपायः
 भनिन्छ व्यक्तिले दुईप्रकारको यात्रा गर्न सक्छ एक शक्तिको र अर्को शान्तिको, शक्तिको यात्रा अहंकारको यात्रा हो, शक्तिले सत्य जान्दैन। अहंकारको अनुपस्थितिमा आनन्द प्राप्त हुन्छ ।अहंकारको पूर्ण अन्त भएमा विनम्रताको आगमन हुन्छ । 
 
 
सर्वप्रथम हामीले आफुभित्र कुन प्रकारको अहंकारको भूत हावी छ त्यसप्रति सजग हुनु जरुरी छ । अहंकारका विभिन्न भूतप्रति हामी  सजग हुन सकेमा अहंकार निश्कृय हुन्छ र ह्दय प्रेमले भरिन्छ । अक्सर हामी आफ्नो अहंकारको भूतको पुष्ट्याई गर्न कोशिस गर्छौ, तर्क विर्तक गर्छौ, आफ्नो भूतलाई तर्कद्धारा प्रमाणित गर्न खोज्छौ तर यस्तो कार्य गर्दा झन अर्को अहंकारको भूत थप हुन्छ । 
 
 
वुद्ध भन्नुहुन्छ अहंकारका भूत एक दोश्रो प्रति लडीलडी शान्त हुंदैनन, उसको समाप्त गर्न होश तथा चेतना चाहिन्छ, सम्यक जागृति , सम्यक स्मृति चाहिन्छ ।सर्बप्रथम  आफ्नो अहंकार आफै थाहा पाउने चेष्टा गर्नुपर्छ । जस्तै ,चरित्रकेन्द्रित अहंकार भएको व्यक्तिले आफ्नो भित्री अपराध वोधमा म खराव हुं भन्ने वोध एवं स्मृति भएमा पश्चाताप गर्छ र अहंकार हराउछ ।
 
 
त्यसैगरी धन तथा भोगकेन्द्रित अहंकार भएको व्यक्तिले म लोभी हु, वासनायुक्त हु भन्ने वोध भएमा उसले दान गर्ने प्रयास गर्दछ । साथै शक्ति, पद र वलको अहंकार भएको व्यक्तिलाई सो आफ्नो अपराधहरुको भित्री वोध म अरुलाई पीडा दिइरहेको छुू भन्ने जव बोध हुन्छ उसले आत्मपीडा महशुस गर्दछ । भाव तथा प्रेमकेन्द्रित अहंकारको वोध म मोह ग्रस्त हुं भन्ने भएमा उसले पलायन हुने प्रयास गर्दछ । वुद्धि एवं विचारको अहंकार भएको व्यक्तिलाई म चंचल, अस्थिर हुं भन्ने वोध भएमा उसले आफ्नो मनसंग शत्रुता गर्दछ । यसर्थ अहंकारको वोध भएमा अहंकार हावी हुन नदिने अन्य कार्य गरिन्छ र ईगो साम्य हुन्छ ।
 
 
आध्यात्मिक मान्यताअनुसार  मानिसभित्र क्रोधका चार तल एवं पत्र हुन्छन । सवभन्दा भित्री पत्र भाव हो , त्यसपछि विचारको तह हो, तत्पश्चात वाणीको तल एवं पत्र र सवभन्दा वाहिरको तह कर्मको हुन्छ । क्रमश भाव, विचार, वाणी र कर्मका तल क्रोधका हुन्छन । जव हामी हिंसाको रुपको कार्य गर्छौ त्यो क्रोधको कर्म वन्छ, विचारमै हामी सजग भयो भने त्यही रोकिन्छ र क्रोधले विदा लिन्छ । 
 
 
क्रोध अचेतन मनबाट आउछ, चेतन मनबाट होइन तसर्थ अचेतन मनलाई जगाउनु पर्छ, प्रकाश पुर्‍याउनु पर्छ, निरीक्षण गर्नुपर्छ। वृत्ति जंहाबाट उठछ त्यो थाहा पाउनु पर्छ, चित्तको अनुगमन गर्नुपर्छ । मान्छेलाई दमन सजिलो छ, सरल छ तर परिवर्तन वा रुपान्तरण कठीन छ । रजनिश ओशो भन्नु हुन्छ जहां अहंकार हट्छ त्यहाँ जीवनमा फूल फूल्न थाल्छ ,जहाँ झुक्ने अवसर आउँछ त्याँहा झुक्नु, जहां झुक्नको लागि परिस्थिति आयो त्यसैगरी अवसर सम्झनु, यसरी झुकिरहयो भने अहंकार काटिदै जाने छ, अहंकार दुङ्गाको चट्टान हो समय लाग्छ काटिनमा।  
 
 
 
अतः अहंकार व्यक्ति आफैले निर्मित गरेको धारणा एवं भूत र मानिसको आफ्नो खोजी हो । अहंकार मनबाट चुनिएका वस्तुहरुको राशीभूत भएकोले जव मनले चुन्दैन तव त्याँहा जम्मा पनि हुंदैन र त्यस व्यक्तिमा अहंकार पनि हुंदैन । अहंकारलाई  निश्कृय पार्न प्रेम, मैत्री र करुणा बढाउनु पर्छ ।मैत्री र करुणामा म र मेरोको भेद हुंदैन । मैत्रीले दोश्रोलाई हर्षित गर्छ र करुणाले दोश्रोको दुखलाई हटाउन सक्छ । प्रत्येक व्यक्तिले आफूभित्रको अहंकारलाई नीरिक्षण गर्दै चेतनाको दियो जगाउने प्रयास गर्नु आवश्यक पर्छ ।