फागुनमा महाविधेशन नहुने निश्चित भयोः कांग्रेस नेता सिटौला

भाद्र २४,२०७७

-

भदौ २४, २०७७ काठमाडौं ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी फागुनमा लागि तय भएको महाविधेशन नहुने निश्चित भइसकेको बताएका छन् ।
 
बीपीजयन्तीका अवसरमा कांग्रेसले गरेको कार्यक्रममा नेता सिटौलाले आगामी फागुनमा तोकिएको महाविधेशनको कार्यतालिका कोरोनाका कारण प्रभावित भइसकेको भन्दै सदस्यता वितरण प्रभावित भएपनि तोकिएको मितिमा महाविधेशन नहुने स्पष्ट भएको बताए । छिटै केन्द्रीय समितिको बैठक बोलाएर महाविधेशनको अर्को कार्यतालिका सार्वजनिक गर्नुपर्ने समेत उनले बताए ।
 
‘महाविधेशनको समय भनेको पार्टी संगठन विस्तार पनि हो । पार्टी कसरी परिचालन हुन्छ भनेर महाविधेशनका बेला नीति निर्माण गर्ने समय पनि हो,’ उनले भने,‘पार्टी विस्तार अभियानकै क्रममा सदस्यता वितरण गर्ने हो तर, केन्द्रीय कार्यसमितिले बनाएको कार्यतालिका  प्रभावित भइसकेको छ । फागुनमा महाविधेशन कुनै हालतमा हुँदैन भन्ने सन्देश पाएका छौं । केन्द्रीय कार्यसमितिको बैठक बसेर तत्काल निर्णय गर्नुपर्छ ।’
 
सरकारले जनअभिमतअनुसार काम गर्न नसकेको भन्दै नेता सिटौलाले कांग्रेसभित्रको विवाद समाधानका लागि नेतृत्वले काम गर्नुपर्ने बताए ।