नेकपा दुर्घटनातर्फ लैजाने षड्यन्त्र विफल बनाएको ओली-प्रचण्डको दावी

भाद्र २६,२०७७

-

भदौं, २६, २०७७ काठमाडौं ।
 
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी फुटाउने र दुर्घटनातर्फ लैजाने षड्यन्त्रलाई विफल बनाएको दावी गरेका छन् ।  स्थगित भएको झण्डै डेढ महिनापछि शुक्रबार ५ घण्टा बसेर समापन भएको स्थायी समिति बैठकको सुरुमै आफ्नो धारणा राख्दै प्रधानमन्त्री समेत रहेका ओलीले पार्टी भित्रको विवाद समाधान गर्न यो बैठक सफल हुने धारणा राखेका थिए । 
 
 
उनले बैठकले पार्टीमा नयाँ उचाईको एकताको संकल्पसहित निश्कर्ष निकाल्ने विश्वास व्यक्त गर्दै पार्टीलाई कमजोर बनाउने र तोडफोड गर्ने देशीविदेशी तथा प्रतिकृयावादी शक्तिहरुको चाहनालाई असफल बनाउन बैठक सफल हुनेमा आफु विश्वस्त रहेको बताएका थिए । 
 
 
बैठकको समापन गर्दै कार्यकारी अध्यक्ष प्रचण्डले पनि दुर्घटनाबाट पार्टीलाई बचाउँदै, विचारको बहस गर्दै र बैचारिक रुपमा पनि रुपान्तरणको दिशामा पार्टी र संगठन अघि बढ्नेमा आफु विश्वस्त रहेको धारणा राखेका थिए । ‘सांगाठनिक रुपमा पार्टी अझ बढी मजबुत र रुपान्तरण गर्नेगरी बैठकले आधार प्रदान गरेको छ । ढोका खुलेको छ’ प्रचण्डले सम्बोधन गर्दै भनेका थिए, ‘त्यसअर्थमा यो बैठक सफल भएको छ ।’
 
उनले यसअघिका विभिन्न प्रकारका उत्तरचढाव र घटनाहरुबाट शिक्षा लिँदै केही दिनमा पार्टी एकताको उदेश्यलाई पुरा गर्नेगरी बहस, छलफलहरु अघि बढाउने तथा पार्टीलाई अझ बढी सुदृढ गर्ने र महाधिवेशनमा बहसको प्रकृयालाई उन्नत ढंगले अघि बढाएर महाधिवेशन सफल पार्न सकिने बताएका थिए । 
 
४४ सदस्यीय नेकपा स्थायी समिति सदस्यमध्ये १३ जनाले बैठकमा पेश भएको अध्यक्षद्धयको प्रस्तावमाथि धारणा राखेका थिए । सदस्यहरुले राखेका धारणलाई समेत समेट्नेगरी प्रस्ताव पारित गर्दै बैठक शुक्रबारै समापन गरिएको छ ।   बैठकमा माधवकुमार नेपाल, देव गुरुङ, भिम रावल, लिलामणि पोखरेल, घनश्याम भुसाल, मात्रिका यादव, अष्टलक्ष्मी शाक्य, रघु पन्त, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले प्रस्तावमाथि धारणा राखेका थिए । 
 
बैठकले केपी शर्माओलीले सरकार र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको छ । नेताहरुले दिएको लिखित र बैठकमा आएको सुझावलाई समेत समेटेर प्रस्ताव पारित गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिए । 
 
 
प्रवक्ता श्रेष्ठकाअनुसार अब पार्टीलाई विधि र पद्धतिमा अगाडि बढाउने र सरकार पार्टीको मागदर्शनमा चल्ने भएपनि सरकारको दैनिक कार्यमा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत विषयमा पार्टीमा परामर्श गरेर मात्र निर्णय गर्ने पद्धतिको विकास हुनेछ । 
 
बैठकले आगामी यो वर्षको अन्तिम अर्थात २०७७ साल चैत २५ देखि ३० गतेसम्म एकता महाधिवेशन गर्ने निर्णय पनि गरेको छ । त्यसको तयारीका लागि आगामी कात्तिकमा केन्द्रीय कमिटी बोलाइएको छ ।