धरानमा उपचारको क्रममा थप दुई जना कोरोना संक्रमितको मृत्यु

आश्विन ०९,२०७७

-

असोज ९,२०७७ काठमाडौं ।
 
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
 
अस्पतालका प्रवक्ता डाक्टर दिनेश सापकोटका अनुसार सप्तरीको राजविराज-३ का ७० वर्षीय पुरुष र मोरङको कानेपोखरी- १का ५५ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।
 
भदौ २८ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका ७० वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार राति ११ बजे मृत्यु भएको डा. सापकोटाले बताए । निमोनियाका साथै ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासमा पनि समस्या देखिएपछि ७० वर्षीय वृद्धलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालले धरान रेफर गरेको थियो । गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको पीसीआर परीक्षणमा भदौ २५ गते उनमा संक्रमण पुष्टि भएको थियो ।
 
यस्तै मोरङको कानेपोखरी-१का ५५ वर्षीय पुरुषको बिहीबार राति उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य प्रतिष्ठानले जनाएको छ ।
 
आन्द्रामा क्यान्सर भएर विगतमा जटिल शल्यक्रिया भएको र शरीरको अन्य भागमा पनि क्यान्सर फैलिसकेको अवस्था माअसोज ५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानकै आईसीयू कक्षमा उन भर्ना भएका थिए । 
 
उपचारकै क्रममा ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या देखिएपछि उनको पीसीआर परीक्षण गरिएको थियो । उपचारकै क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएपछि असोज ८ गते स्वास्थ्य प्रतिष्ठानकै कोभिड अस्पतालको आइसोलेसनमा राखेर उनको उपचार भइरहेको थियो । तर पनि उनलाई बचाउन नसकिएको स्वास्थ्य प्रतिष्ठानले जनाएको छ ।