दशैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने नेकपाको निर्णय

कार्तिक ०३,२०७७

-

कात्तिक ३,२०७७ काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले दशैँ भत्ता नलिने भएका छन् ।
 
प्रतिनिधिसभा संसदीय दलका नेता रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित दुवै सदनका संसदीय दलका नेता र सचेतकहरुको बैठकले भत्ता नलिने निर्णय गरेको हो ।
 
बैठकमा सहभागी प्रतिनिसभा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार सांसदहरुको भत्ता कोरोना कोषमा जम्मा गरिनेछ ।
 
सांसदहरुले दशैँ भत्ता बुझेपछि तीव्र आलोचना भएको थियो । तर, नेकपाका केही सांसदहरुले व्यक्तिगतरुपमा भत्ता फिर्ता गरेका थिए ।
 
प्रधानमन्त्री ओलीले अहिलेको विषम परिस्थितिमा बाँडिएको भत्ता कोरोना कोष जम्मा गर्ने निर्णय नै उचित हुने बताएका थिए । दुवै सदनका नेताहरुको बैठकले सर्वसाधरणलाई सामान्य तरिकाले दशैँ मनाउन आग्रह समेत गरेको नेम्वाङले बताए ।
 
नेकपासँग प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ सांसद छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि कोरोना भत्ता फिर्ता गर्दै कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ ।