खाद्यान्न, गेडागुडी, तेल र तरकारीको भाउ अचाक्ली महँगो

कार्तिक ०५,२०७७

-

कार्तिक ५,२०७७ काठमाडौं ।
कोभिड-१९ महामारीका कारण सर्वसाधारणको क्रयशक्ति घटिरहँदा बजारभाउ भने अकासिँदै गएको छ । चाडबाड नजिकिएका बेला खाद्यान्न, गेडागुडी, खानेतेल, तरकारीलगायतको भाउ बढेको छ । चामलको मूल्य होलसेलमा प्रतिबोरा एक सय रुपैयाँ घटे पनि खुद्रामा पुरानै मूल्यमा बिक्री भइरहेको छ ।
 
चाडबाडको मुखमा मूल्यवृद्धि अरू बेला पनि हुने गरेको छ । महामारीले सबै क्षेत्र शिथिल भएको मौका छोपी अस्वाभाविक रूपमा मूल्य बढाउनु भने गलत भएको जानकारहरू बताउँछन् । ‘व्यापारीहरू संगठित छन्, उनीहरूको प्रभाव पुनः देखिएको छ । 
 
कोभिडले समस्याग्रत भइरहँदा उनीहरूमा सामाजिक उत्तरदायित्व देखिएन, छुट दिनुपर्नेमा भाउ बढाएका छन्,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका पूर्वमहानिर्देशक कृष्णहरि बाँस्कोटाले भने, ‘सरकारी रबैया पनि उस्तै छ । अनुगमन प्रणाली बलियो छैन ।’ बजार अनुगमन चाडबाडमा मात्रै केन्द्रित हुँदा पनि समस्या देखिएको उनको भनाइ छ ।
 
 
बाँस्कोटाले उपभोक्ता पनि जागरुक नहुँदा ठगिएको तर्क गरे । ‘सामान खरिद गर्दा दुईतीन वटा पसलमा हेर्नुपर्छ, कसैले ठगी गरे उजुरी गर्नुपर्छ भन्ने भावना नै भएन,’ उनले भने । खुद्रा व्यापार संघका अनुसार केराउ, चना, दाल, खानेतेल, बोडी, राज्मालगायत खाद्यवस्तुको मूल्य बढ्न थालेको छ । विगत वर्षभन्दा यी वस्तुको मूल्य अहिले बढी छ । पछिल्लो एक महिनाको तुलनामा पनि तेल, गेडागुडी, आँटामैदा, तरकारीलगायतको मूल्य धेरै छ ।
 
‘पछिल्ला दिनमा खानेतेल, गेडागुडी, आँटालगायतको मूल्य बढेको छ । खुद्रा व्यवसायी होलसेलले बढायो भन्छन्, होलसेल व्यवसायीहरू उद्योगीले बढायो भनेर पन्छिएका छन्,’ खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने, ‘बिलबीजक हुँदैन, त्यही भएर समस्या भयो । मूल्यका सन्दर्भमा नियामक निकाय वाणिज्य विभागलाई जानकारी गराएका छौं ।’