अर्थतन्त्रका बाह्य सूचक सकारात्मक

कार्तिक ०६,२०७७

-

कात्तिक ६,२०७७ काठमाडौं ।
 
अर्थतन्त्रको बाह्य क्षेत्रका सूचक सकारात्मक अवस्थामा पुगेका छन् । प्रायः सधैँ घाटामा रहने चालू खाता बचतमा पुगेको छ । विप्रेषणको वृद्धि र कोभिडका कारण आयातमा कम दबाब परेकाले चालू खाता बचतमा पुगेको हो ।
 
चालू आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा १६५ अर्ब ७३ करोड रेमिट्यान्स भित्रिएको छ । कोरोना कहरले मुलुकको अर्थतन्त्र धराशयी भएका बेलामा रेमिट्यान्स आप्रवाह ८.१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ०.६ प्रतिशतले घटेको थियो ।
 
नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको आर्थिक वर्ष २०७७/७८ को दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २.६ प्रतिशतले वृद्धि भई एक अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.६ प्रतिशतले घटेको थियो ।
 
 
प्रतिवेदनअनुसार चालू खाता २६ अर्ब सात करोडले बचतमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु. २२ अर्ब ६९ करोडले घाटामा रहेको थियो । विगतमा चालू खाता कुल गार्हस्थ उत्पादनको ८ प्रतिशतसम्म घाटामा थियो । 
 
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड तीन लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २१ करोड ७६ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.६७ अर्ब ६३ करोडले बचतमा रहेको छ ।
 
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. आठ अर्ब ८३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा सात करोड ८५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको छ । आजको गोरखापत्रमा खबर छ ।