कोरोना संक्रमणले कक्षा १२ को परिक्षा दिन छुटेकाहरुलाई अवसर दिइने

मंसिर १७,२०७७



मंसिर १७, २०७७ काठमाडौं ।
कक्षा १२  को  परीक्षा  दिएका  विद्यार्थीले  अबको ठीक एक महिनाभित्र नतिजा पाउने  भएका  छन्  ।  विद्यार्थीको  शैक्षिक  सत्र  प्रभावित  नहुने  गरी  एक  महिनाभित्र  विद्यार्थीको  हातमा  नतिजा  उपलब्ध  गराइने  भएको  हो । 
 
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले विद्यार्थीको नतिजा  महिना  दिनभित्र  दिने  गरी  तयारी थालिएको जानकारी दिए । यसबाट  विद्यार्थीलाई  उच्च  शिक्षा  अध्ययनका  लागि  बाटो  खुल्ने  भएको हो । यसका लागि देशभरका शिक्षकहरूसित  समन्वयमा  काम  भइरहेको जनाइएको छ ।
 
परीक्षा  बोर्डले  एक  साताभित्र  उत्तरपुस्तिकाको परीक्षण पूरा गर्ने तयारी गरेको  छ  ।  कतिपय  विषयको  उत्तरपुस्तिका परीक्षण सुरु भइसकेको छ । विद्यालयमा सम्बद्ध विषयको शिक्षकले नै यसपटक विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने भएकोले एक साताभित्र यो काम पूरा हुने विश्वास गरिएको अध्यक्ष पौडेलले  बताए ।  यसपटक  कोरोनाका  कारण  सबै  विद्यार्थीलाई  आफूले नै अध्ययन गरेको विद्यालयमा परीक्षा  दिने  अवसर  बोर्डले  उपलब्ध  गराएको थियो ।
 
सङ्क्रमितलाई परीक्षाको अवसर
 
यसैबीच, परीक्षा बोर्डले कोरोना भाइरसबाट  प्रभावित  भएर  परीक्षा  लिन नपाएका विद्यार्थीका लागि फेरि एक पटक अवसर दिने भएको छ । विद्यार्थीलाई पुनः परीक्षाको अवसर दिने र त्यसको सूचना आगामी १५ दिनको  हाराहारीमा  दिने  बोर्डको  तयारी छ । 
 
कोरोनाबाट  प्रभावित  विद्यार्थी  परीक्षामा  सहभागी  हुँदा  अन्य  विद्यार्थीलाई सङ्क्रमणको समेत त्रास हुने भएकोले सङ्क्रमित विद्यार्थीलाई पुनः  परीक्षा  लिने  निर्णय  बोर्डले  यसअघि नै गरिसकेको छ । त्रिभुवन विश्वविद्यालयले भने यस खालका विद्यार्थीलाई अन्य विद्यार्थीभन्दा १५ मिनेट ढिला गरी परीक्षा प्रारम्भ गर्ने गरी सूचित गरिसकेको छ ।
 
आजको गोरखापत्रमा खबर छ ।