कम मूल्य देखाएर गाडी आयात रेको देखाई करोडौंको राजस्व ठगी

मंसिर १७,२०७७

-

मंसिर १७,२०७७ काठमाडौं ।
टेस्ला मोडल थ्रिका गाडीमा मूल्य घटाएर नेपाल आयात गरेको देखाई करोडौंंको राजस्व ठगी गरेको देखिएको छ । चीनमा ४९ हजार डलरमा बिक्री भइरहेको टेस्ला मोडल थ्री नेपाल ल्याउँदा ३५ हजार डलरमा किनेको बिल पेस गरिएपछि करोडौं रुपियाँको राजस्व चोरी भएको पाइएको छ ।
 
‘गाडी अन्डर बिलिङमा आएको देखिन्छ । अरेटी इन्टरनेसनलले यसमा प्रयोग भएको मोटर क्षमता पनि झुक्काएर १५ प्रतिशत मात्रै अन्तःशुल्क तिरेर ल्याएको छ’, गाडी आयातमा दशकौंदेखि सक्रिय एक विज्ञले भने-‘नेपालको भन्सार कार्यालयमै रहेका भ्रष्ट कर्मचारीको सहयोगमा राजस्व चोरी भएको देखिन्छ ।’
 
गाडीको भन्सार मूल्य ४१ लाख ६० हजार ४ सय ५० रुपियाँ देखाइएको छ भने भन्सार शुल्क बापत १६ लाख ६४ हजार रुपियाँ तिरिएको अनुसन्धानबाट खुल्न आएको छ ।
 
अल ह्वील ड्राइभ सिस्टम जडान भएको टेस्ला मोडल थ्रिमा कम्पनीले १४७ किलोवाट क्षमताको मोटर जडान भएको तर्क दिँदै १५ प्रतिशत मात्रै अन्तःशुल्क तिरेको छ । तर, यसमा पछाडिको चक्कामा पावर दिन २११ किलोवाटको अर्को मोटर पनि दिइएको छ, ती विज्ञले विवरण दिए– ‘अगाडि र पछाडि गरेर यसमा ३५८ किलोवाट क्षमताको मोटर प्रयोग भएको छ ।’
 
यस क्षमताको मोटर प्रयोग भएको गाडीले ६० प्रतिशत अन्तःशुल्क तिर्नुपर्ने हुन्छ । कम्पनीले अहिले ८ लाख ७३ हजार ६ सय ९५ रुपियाँ अन्तःशुल्क तिरेको देखिन्छ, जब कि उसले ६० प्रतिशत अन्तःशुल्क बापत ३४ लाख ९४ हजार ७ सय ७८ रुपियाँ तिर्नुपर्ने हुन्छ । यसरी हेर्दा कम्पनीले अन्तःशुल्कमा प्रतिगाडी २६ लाख २१ हजार ८३ रुपियाँ छली गरेको देखिन्छ ।
 
अन्तःशुल्क पछि यसरी आधिकारिक वितरक नभई आएको गाडीमा ३० प्रतिशत अतिरिक्त शुल्क लाग्छ । उक्त शुल्क बापत कम्पनीले १२ लाख ४८ हजार १ सय ३५ रुपियाँ तिरेको छ ।
 
भन्सार, अन्तःशुल्क, अतिरिक्त शुल्क, भ्याट र सडक निर्माण दस्तुर बापत कम्पनीले कुल रकम ५० लाख ३५ हजार २ सय ४९ रुपियाँ तिरेको देखिन्छ । यसरी मोटर क्षमता लुकाएर कम्पनीले एउटा गाडीमा कुल ३८ लाख ३६ हजार २ सय ८३ रुपियाँ राजस्व चोरी गरेको देखिन्छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।